ज्वेलरी उद्योगमा संयुक्त लगानी प्रवद्र्धन गर्ने सहमति


काठमाडौं, साउन २३ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि संयुक्त रुपमा प्रविधि एवं पूँजी लगानी गर्ने बिषयमा सहमति भएको छ ।

महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो २०१६ मा सहभागी भएको प्रतिनिधि मण्डल र काउन्सीलका अध्यक्ष प्रविन शंकर पाण्डेय एवं अन्य पदाधिकारीहरु बीचको बैठकमा उक्त सहमति भएको हो । महासंघको प्रतिनिधि मण्डलमा नेपाल द्रव्य तथा खनिज संघका अध्यक्ष विद्यासागर ताम्राकार, नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघका अध्यक्ष किसान सुनार लगायत आर. बि डायमाण्ड ज्वेलर्स प्रा. लि.का रमेश महर्जन, नेपाल डायमाण्ड कम्पनी प्रा. लिका सरिता महर्जन लगायतका व्यवसायिहरुको सहभागीता रहेको थियो ।

महासंघ र काउन्सीलको सहकार्य एवं संयुक्त लगानीमा नेपालमा “ज्वेलरी प्रमोशन जोन” स्थापना गरी सो अन्तर्गत रत्न, पत्थर आदि स्थानीय कच्चा पदार्थको अन्वेशष, उत्खनन्, प्रशोधन आदि गरी निर्यात् प्रवद्र्धन गर्ने लक्ष्यका साथ काम अघि बढाउन सरकारी निकाय समक्ष आवश्यक सहयोगका लागि अनुरोध गर्ने सहमति भएको छ ।

नेपाल ज्वेलरी उद्योग लगानी प्रवद्र्धन गर्ने विषयमा काठमाडौंमा निकट भविष्यमा नै अन्तराष्ट्रिय स्तरको सम्मेलनको आयोजना गर्ने र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी आधुनिक डिजाइनका आभुषणहरु उत्पादन सम्बन्धि तालिम संचालन गर्ने आदि बिषयहरुमा पनि सहमति भएको छ । उक्त सहमतिको कार्यान्वयनको तयारीको सन्दर्भमा काउन्सीलको उच्चस्तरीय प्रतिनिधि मण्डल निकट भविष्यमा नेपाल भ्रमणमा आउने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया