आयस्तर उकास्न किसानलाई ८३ करोड



काठमाडौं, असोज ८ । सरकारले उच्च हिमाली क्षेत्रका किसानको आयस्तर उकास्न पौने एक अर्ब रुपैयाँ अनुदान दिने भएको छ । सोलुखुम्बु, संखुवासभा, रसुवा, दोलखा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा कृषि व्यवसाय तथा जीविकोपार्जनमा सुधार ल्याउन पशुपक्षी मन्त्रालय अन्तर्गतको हिमाली आयोजनाबाट अनुदान दिइएको हो ।

१० जिल्लाका किसानलाई ८३ करोड ७२ लाख ५५ हजार रुपैयाँ दिने योजना अनुसार ५३ करोड रुपैयाँ प्रदान गरिएको छ । १ अर्ब १४ करोड ३१ लाख रुपैयाँको परियोजनामा स्थानीय समुदायले ३० करोड ५८ लाख ९२ हजार रुपैयाँ लगानी गरेको आयोजनाले जनाएको छ ।

दुई हजार ५ सय २४ किसानको सहभागिता रहेको ६ सय ४० योजनाका लागि अनुदान रकम प्रदान गरिएको हिमाली आयोजनाका प्रवक्ता मनोजकुमार साहीले बताए । ‘हिमाली क्षेत्रमा रोजगारी वृद्धि गरी आम्दानी बढाउन अनुदान दिएका छौं,’ उनले भने, ‘किसान व्यावसायिक पशुपालनमा आकर्षित भएका छन् ।’ २ हजार ४ सय ४२ कृषि व्यवसाय प्रस्ताव मध्येबाट ती योजना छनोट गरिएको हो ।

परियोजना अन्तर्गत संखुवासभामा ४ करोड ३९ लाख, सोलुखुम्बुमा ४ करोड ४० लाख, दोलखामा १७ करोड ९३ लाख, रसुवामा ६ करोड ९६ लाख, मनाङमा ६ करोड ७९ लाख, मुस्ताङमा ५ करोड ९९ लाख, डोल्पामा १० करोड २९ लाख, जुम्लामा ९ करोड ३६ लाख, मुगुमा ५ करोड ८७ लाख, हुम्लामा ६ करोड ८० लाख रुपैयाँ अनुदान दिने योजना छ । यसमध्ये सबै जिल्लामा करिब ६४ प्रतिशत रकम प्रदान गरिसकेको प्रवक्ता साहीले बताए । ‘किसानले काम सम्पन्न गरेपछि मात्र अनुदान रकम उपलब्ध गराउछौं,’ उनले भने, ‘सबै जिल्लामा योजना सम्झौता भएर कार्यान्वयन चरणमा छ ।’
अनुदान रकम भेडाब्राख्रा, चौरी पालनसहित स्याउ, किवी खेती, अल्लो, चिराइतो, आलु, तरकारी, रेम्बो ट्राउट माछा, हर्वल चिया, कृषि पर्यटन, मौरी पालनमा खर्चिने छ । कार्यक्रम अन्तर्गत उत्पादन, प्रशोधन, गुणस्तर वृद्धि, प्याकेजिङ, बजार व्यवस्थापनका लागि पनि अनुदान दिइएको छ ।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सञ्चालित उक्त परियोजनाको उद्देश्य कृषि कर्मबाट जीविकोपार्जन गर्दै आएका किसानालई व्यवसायीकरण गरी उत्पादनमा आत्मनिर्भर बनाएर कुल ग्राहस्थ्य उत्पादनमा योगदान पु¥याउने हो ।
हिमाली क्षेत्रका किसानको जीवनस्तरमा सुधार ल्याउन उक्त परियोजनामा एडिबीले ६६ प्रतिशत, सरकारको १५, व्यावसायिक किसानको १९ प्रतिशत लगानी छ ।

स्रोत : नागरिक दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया