हुलाकी राजमार्ग निर्माण तिव्र गतिमा, ‘फाष्ट ट्रयाक निर्माण गर्ने योजना छिट्टै सार्वजनिक हुने


काठमाडौं, मंसिर ६ । भौतिक योजना, पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले तराई मधेशका २० जिल्लामध्ये १५ जिल्लाका उत्तर–दक्षिण जोड्ने करिव ७ सय १ किलोमिटरको २४ मार्गहरुको निर्माण कार्यको लागि टेण्डर प्रक्रिया सुरु भएकोले अबको दुई तिन महिनाभित्रै दु्रत गतिमा निर्माण कार्य हुने बताएका हुन् । करिव १८ अर्बको लागतमा बन्ने उक्त राजमार्गहरु भारतले ८ अर्ब अनुदान दिने पनि उनले जनाए ।

साक्षात्कारमा मन्त्री लेखकले पूर्व–पश्चिम हुलाकी राजमार्गको पनि डिपीआर अन्तिम चरणमा पुगेको बताए । करिब १२ सय किलोमिटरको राजमार्गको डिपीआर अन्तिम चरणमा पुगेकोले अब छिट्टै दोस्रो चरणको कार्य पनि सुरु हुने उनले जनाए ।

त्यस्तै मन्त्री लेखकले काठमाडौं–तराई मधेश फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गरे । उनले अघि थपे, ‘अब फाष्ट ट्रयाक निर्माणका सम्बन्धमा अब कुनै द्धिविधा छैन, यसबारेमा मैले विशेष निर्णय गरेको छु, अब मन्त्रिपरिषदमा गएको छ ।’ उनले अब फाष्ट ट्रयाक नेपाल सरकारले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएसँगै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको जानकारी दिए ।

त्यस्तै फाष्ट ट्रयाक निर्माणबारे वित्तिय व्यवस्थापनबारे पनि ऋण सहयोग वा अनुदान के गर्ने भन्नेबारेमापनि अहिले छलफल भैरहेको उनले जानकारी दिए । उनले अघि थपे,‘फाष्ट ट्याकको ठेक्काको मोडेल कस्तो हुने, यी सबै विषयमा विशेष प्रतिवेदन तयार पार्नको लागि समिति गठन गरिएको छ, समितिले एक महिनाभित्रै रिपोर्ट तयार पार्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया