नेपालमा भारु २ हजार र पाँच सयको नयाँ नोट तत्काल नचल्ने


भारत-जाँदा

काठमाडौं, मंसिर ९ । भारतले हालै निष्काशन गरेको २ हजार र पाँच सयको नयाँ नोट नेपालमा नचल्ने भएको छ । भारतीय रिसर्ब बैंकले पुरानो नोटको प्रतिबन्ध पछि नयाँ नोट बजारमा ल्याउन नपाउदै नेपाल राष्ट्र बैंकले यसलाई अनाध्रिकृत र अबैध भनेको हो । राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले नेपालमा भारतीय नोट बजारमा देखिए पनि यसको कारोबार गर्न व्यवस्था नरहेको हुनाले यो अबैध हुने बताए ।

उनले भने, ‘भारतले आफ्नो ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि मात्रै भारु पाँचसय र २ हजारले नेपालमा वैधानिकता पाउछ ।’

भारतले भुटान र नेपालमा निश्चित परिमाणसम्म भारु बोक्न तथा कारोबार गर्न सक्ने गरी ‘फेमा नोटिफिकेशन’ जारी गर्ने प्रचलन रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नोटिफिकेशन मार्फत नेपालमा ५ सय १ हजारका नोट २५ हजारसम्म कारोबार गर्न खुला गरिएको थियो । तर, भारतले पुरानो नोटमा प्रतिबन्ध लगाइसकेपछि पुन त समस्या सिर्जना भएको हो ।

‘फेमा नोटिफिकेशन जारी नभएसम्म भारतीय ५ सय र १ हजार नोट नेपालमा प्रतिवन्धित नै थिए’ प्रवक्ता पौडेलले भने, ‘नयाँ ५ सय र २ हजार भारु अहिले त्यही अवस्थामा छ ।’

उनका अनुसार ‘फेमा नोटिफिकेशन’ नआउँदासम्म भारु ५०० र २ हजारको नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । प्रवक्ता पौडेल भन्छन्, ‘नयाँ आइसी नोटको कारोबारले समस्या ल्याउन सक्छ । अवैध नोट कारोबार गर्दा नेपालीलाई जोखिम पनि छ ।’

अहिले भारु १ सय र त्यसभन्दा साना नोट मात्रै नेपालभित्र कारोबार गर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया