१२ दिनमा डेढ खर्ब सिध्याउने कसरत, अर्थमन्त्रीले रोक्लान कि साथ देलान ?


आर्थिकन्यूज

काठमाडौं, असार १४ । देशको अर्थतन्त्र नयाँ आर्थिक वर्षको संघारमा पुगेको छ । सरकारले चालू आवको लागि विनियोजन गरेको बजेट यो अवधिसम्म करिब ७० प्रतिशत अर्थात ८ खर्ब ९३ अर्ब ७० करोड खर्च गरेको छ । हाल भएको खर्चमध्ये चालू खर्च ७९.२८ प्रतिशत हो भने पुँजीगत खर्च ५१.५८ प्रतिशतमात्र रहेको छ । वित्तीय व्यवस्थातर्फ भने चालू आवको असार १२ गतेसम्म ५९.७३ रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । सरकारले चालू आवको लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो ।

चालू र वित्तीय व्यवस्थातर्फको खर्च बढे पनि पुँजीगत खर्च भने सन्तोषजनक हुन सकेको देखिँदैन । वैशाख १२ सम्म चालू आवमा विनियोजित तीन खर्ब ३५ अर्ब बजेटमध्ये एक खर्ब ७२ अर्ब रुपैयाँमात्रै खर्च भएको छ । अबको बाँकी १२ दिनमा एक खर्ब ६३ अर्ब खर्च गर्नुपर्ने देखिएको छ । असार २५ पछि सरकारी चेक काट्न नपाउने कानुनी व्यवस्थालाई नलत्याउने हो भने पछिल्लो १२ दिनमा दैनिक १३ अर्बका दरले खर्च गर्नुपर्ने देखिन्छ । अर्थ मन्त्रालयले बजेट अर्धवार्षिक समीक्षामार्फत पुँजीगततर्फ २ खर्ब ३४ अर्ब ६२ करोड खर्च गर्ने गरी बजेट नै संशोधत गरेको छ । संशोधित खर्चलाई आधारमान्दा पनि अबको बाँकी दिनमा पुँजीगतर्फ दैनिक पाँच अर्बका दरले खर्च गर्नुपर्ने देखिन्छ ।

सरकारले पुँजीगत खर्चलाई बढवा दिन अघिल्लो आर्थिक वर्षको बजेट खर्च गर्नका लागि छुट्टै अख्तियारी दिन नपर्ने गरी असारमै बजेट पारित गरेपनि आशा लाग्दो किसिमबाट बजेट खर्च हुन नसकेको अर्थ अधिकारी बताउँछन् । ‘हामीले साउन १ मै अधिकार प्राप्त अधिकारीलाई बजेट निकासा गरेर खर्चका लागि बाटो खोलिदिएका थियौं,’ अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने । कतिपय ठूला आयोजनाले खर्च गर्न नसक्दा विनियोजन बजेट खर्च हुन नसकेको हो ।

साउन १ मा बजेट पूर्ण रुपमा कार्यान्वयनमा लान अर्थ मन्त्रालयले सबै मन्त्रालय तथा निकायलाई जेठ १६ गते अर्थात बजेट सार्वजनिक भएको भोलिपल्ट बजेट मार्गदर्शन पठाएको उनले बताए । मन्त्रालयले नयाँ कार्यक्रम÷आयोजना कार्यान्वयनका लागि साउन मसान्तभित्र आयोजना कार्यालयले स्थापना गरिसक्न समेत हामीले सुझाएका थियौं ।’

खर्चको भएको सुस्तता र पछिल्लो समय हुने खर्च दुरुपयोगलाई रोक्न अर्थ मन्त्रालयले बजेट मध्यावधि समीक्षा मार्फत गरेको संशोधन अनुसार कुल बजेटको ८४.६७ प्रतिशत अर्थात १० खर्ब ८२ अर्ब खर्च गर्नुपर्ने देखिएको छ । हाल भएको ८ खर्ब ९३ अर्बमात्र खर्च भएकाले बाँकी दिनमा १ खर्ब ८९ अर्ब खर्च गर्नुपर्ने देखिएको छ । कुल बजेटमा खर्च भएको बजेट र संशोधित बजेटलाई आधारमान्दा पनि अबका दिनमा बजेटका तीनै शीर्षकमा समेत गरी १५ अर्ब खर्च गर्नुपर्ने देखिएको छ ।

मितव्यतिता अपनाउने सरकारको रणनीतिले बाँकीका दिनमा हुने खर्चलाई रोक्न कस्तो भूमिका खेल्लान अर्थात अर्थमन्त्री खतिवडाले पछिल्लो समय हुने प्रतिफल बिनाको खर्चलाई रोक्न सफल होलान् त ! त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया