निर्मालाका निम्ति न्यायको पोस्टर जति च्यात्यो उति भाइरल


आर्थिकन्यूज
फाइल फाेटाे

काठमाडौं, मंसिर १८ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो ।

जसरी सरकारले ११ गते राजधानीवासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेको थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो ।

पोलपोलमा प्रधानमन्त्रीका पोस्टर जसरी टाँगिएका थिए, त्यसरी नै निर्मलाका पोस्टरले पोलबाटै न्याय मागिरहेका थिए । प्रधानमन्त्रीको तस्बिरसहित नारा फैलाउन सरकारी कोष र सरकारको आह्वानमा निजी क्षेत्रले लगानी गरेको थियो भने निर्मलाको न्याय माग्न सार्वजनिक हुन नचाहने तन्नेरीको एउटा समूह थियो । एउटा प्रचारको तरिका थियो, अर्को न्यायको खोजी ।

प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गर्‍यो । न्याय खोज्नेहरू झनै उत्साहित भए । पोल र भित्तामा पोस्टर त टाँगिएका थिए नै, सोमबारसम्म आइपुग्दा देशव्यापी रूपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् । न्याय माग्ने अभियान भाइरल बन्दै गएको छ ।

यी पोस्टर र स्टिकर कसले छापिरहेछ,कसले टाँसिरहेछ ?
सामाजिक सञ्जाल फेसबुकमा एउटा ग्रुप छ– ‘मेन्स रुम रिलोडेड’ अर्थात् ‘एमआरआर’ । २०११ डिसेम्बरबाट सक्रिय झन्डै एक लाख २७ हजार फलोअर रहेको उक्त पेजमार्फत जोडिएका केही तन्नेरी थिए, जसले पर्दापछाडि बसेर निर्मलाको न्यायका निम्ति पोस्टर डिजाइन गरे ।

सार्वजनिक हुन नचाहने यस समूहका एक सदस्यले कान्तिपुरसँग यसबारे खुलासा गरे । न्याय दिन सरकार असफल भइरहेका बेला प्रधानमन्त्री मुस्कुराइरहेको तस्बिरछ्यापछ्याप्ती भएकामा असन्तुष्ट यस समूहका केही सदस्य १२ गते बेलुकी काठमाडौंको एक ठाउँमा भेला भए ।

कोही विद्यार्थी र कोही काम गर्ने तन्नेरीको भेलाले न्याय माग्नका लागि प्रधानमन्त्रीको तस्बिरसहितको पोस्टरकै डिजाइनमा निर्मलाको तस्बिर राखेर न्यायकोआह्वान गर्ने निर्णय लियो ।

समूहकै एक जनाले तुरुन्तै डिजाइन तयार पारे । ‘सरकारले नयाँ युगको सुरुवात भन्ने नारा राखेको थियो, त्यसप्रति भएको विरोधको प्रतिवाद गर्दै प्रधानमन्त्रीले सरकारको उपस्थिति देखाउन प्रचार गरेको तर्क अगाडि सारेका थिए,’ समूहका ती सदस्यले कान्तिपुरसँग भने, ‘सोही भनाइ सम्झेर हामीले नारा तय गर्‍यौं, सरकार भेटियो न्याय भेटिएन ।’ कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया