समुन्नत समाज निर्माणको सोचसहित १५औं योजनाको खाका तयार


आर्थिकन्यूज
सांकेतिक फाइल फोटो

काठमाडौं, मंसिर १८ । प्रदेश तथा स्थानीय अर्थतन्त्रको विकास गर्ने रणनीतिक लक्ष्यसहित राष्ट्रिय योजना आयोगले १५औं योजनाको अवधारणपत्र तयार पारेको छ ।

मुलुकको आर्थिक, पर्यटकीय, शैक्षिक तथा व्यापारिक क्षेत्रीय केन्द्रका विकाससहित तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने उद्देश्य योजनाले लिने भएको छ ।

वार्षिक न्यूनतम एक प्रतिशत गरिबी घटाउने लक्ष्यसहित १५औं योजनाको खाका तयार भएको आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले बताए ।

सरकारले १४औं त्रिवर्षीय योजनाको अन्त्यसम्म योजना शुरु हुँदाको अवस्थाको २१ द्यशमलव ६ प्रतिशत गरिबीलाई १७ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । यसको समिक्षा हुन बाँकी नै छ ।’ समुनन्त समाज निर्माणको सोचसहित १५औ पञ्चवर्षीय योजना बन्छ,’ कँडेलले भने–‘ सुखी नेपाली र समृद्ध नेपाल सरकारको चाहना हो ।’

संविधानमा व्यवस्था भएको मौलिक हक, राज्यका निर्देशित सिद्धान्त एवम् नीतिहरूको पूर्ण कार्यान्वयन तथा वि.स. २०७९ (सन् २०२२) सम्म राष्ट्रलाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गरी सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्ने लक्ष्यका साथ १५ योजनको खाका तयार पारिएको हो ।

सरकारले नागरिक समृद्धिको चाहना पूरा गर्ने संकल्पसहित ‘दीर्घकालीन सोच २१००’ योजनाबद्ध कार्यान्वयन हुने गरी १५औं पञ्चवर्षीय योजना तयार पार्ने उपाध्यक्ष कँडेलले बताए ।

१४औं त्रिवर्षीय योजनाको दुई वर्षमा आर्थिक वृद्धिदर औसतमा साढे ६ प्रतिशत रहने अनुमान गर्दै १५औं योजनामा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारले तोकेको छ ।

शून्य दशमलव ७७ प्रतिशतको आर्थिक वृद्धिमा तयार पारिएको १४ योजनाको खाकाले ७.२ प्रतिशतको आर्थिक वृद्धिर हासिल गर्ने लक्ष्य लिएको थियो ।

कुल बजेट ३२ खर्ब तीन अर्ब खर्च गर्ने लक्ष्यसहित अघि बढेको योजनाको आधार वर्ष २०७२/७३ मा सात खर्ब एक अर्ब खर्च गर्ने लक्ष्य निर्धारण भएको थियो ।

यस विनियोजित बजेटको कति खर्च हुन्छ भने हेर्न नै बाँकी छ । सरकारले चालू आवको लागि कुल १५ खर्ब १६ अर्ब १७ करोड विनियोजन गरेको छ ।

चालू आवको साढे पाँच महिनाको अवधिमा जम्मा कुल बजेटको करिब २१ प्रतिशत अर्थात दुई खर्ब ७४ अर्ब ८१ करोडमात्रै खर्च गरेको छ ।

समुन्नत स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको सघन अन्तरआबद्धता तथा उच्च उत्पादकत्व भएको समान अवसर प्राप्त सहितको स्वस्थ, शिक्षित र उच्च जीवनस्तर भएको सुखी नागरिक बसोबास गर्ने मुलुकको रुपमा नेपाललाई रुपान्तरण गर्ने सोच सहित सरकार अघि बढेको उपाध्यक्ष कँडेलले बताए ।

आयोगले फागुनसम्म १५औं योजनाको विस्तृत खाका तयार पार्नेका लागि अहिले १४औं योजनाको समीक्षा भइरहेको छ । माघ मसान्तसम्म विकास परिषद्को बैठक बस्ने तयारी आयोगले गरेको छ ।

अहिले १४औं योजनको समीक्षा त्रिभुवन विश्वविद्यालयले गरिरहेको छ । समीक्षाले अन्तिम रुप पाएपछि १५औं योजनाको विस्तृत खाका तयार पार्न सहज हुने अर्थात पारिने आयोगको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया