‘थोरै सुध्रियो कालिमाटी फलफूल तथा तरकारी बजार’


आर्थिकन्यूज

काठमाडौं, पुस १२ । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नियम, कानुन र मापदण्ड उलंघन गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएकी छिन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनपछि राज्यमन्त्री चौधरीले कानुन सबैलाई समान रुपमा लाग्ने भन्दै उल्लंघन गरे कारबाही गर्न सरकारपछि नहट्ने बताइन् ।

जेठ २१ गते मन्त्री चक्रपाणी खनालको नेतृत्वमा अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्यमन्त्री चौधरी बिहीबार बिहान कालिमाटी पुगेकी हुन् । उनले पहिलेको तुलनामा सरसफाइ र व्यवस्थापनमा केही सुधार भए पनि अरु धेरै सुधार गर्नुपर्ने ठाउँ रहेको बताइन् ।

‘पहिलोपटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो, राज्यमन्त्री चौधरीले भनिन्–‘अहिले त्यसमा केही कमि आएको जस्तो देखिएको छ तर यतिले मात्र पुग्दैन ।’

कालिमाटी मुख्य तरकारी तथा फलफूल बजार भएको भन्दै चौधरीले त्यहाँ जस्तो हुन्छ देशभरी त्यस्तै सन्देश जाने भएकाले बजारको स्तरोन्नतीका लागि सबैको उत्तिकै पहल गर्नुपर्ने बताइन । ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालिमाटीमा ५६३ वटा स्टर रहेका छन् ।

गत जेठ २१ गते मन्त्री खनाल र राज्य मन्त्री चौधरीको अनुगमनपछि कारबाहीका लागि सिफरिस गरिएका ९८ जना व्यवसायीलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टिकरण सोधी ५७ जना व्यवसायीको इजाजत खारेज गरेकोमा २६ जना व्यवसायीको भने स्टल खारेज नगराउनु भन्ने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया