एनसीसीको सर्वसाधारण समूहको शेयर सीआइटीले पाएन, कट अफ प्राइस २०१ रुपैयाँ


आर्थिकन्यूज
नेपाल क्रेडिट

काठमाडौं, पुस २३ । एनसीसी बैंकको सर्वसाधारण समूहको लिलामी शेयर नागरिक लगानी कोष असफल भएको छ । नागरिक लगानी कोषले १९१ रुपैयाँ मूल्य तोकेर खुला भएको सबै शेयरका लागि बोलपत्र पेश गरेको थियो । तर यो भाउभन्दा माथि मूल्य तोकेर भर्नेहरु अधिक भएपछि कोषको हात खाली भएको हो ।

एनसीसीको सर्वसाधारण समूहको शेयरमा कट अफ प्राइस २०१ रुपैयाँ कायम भएको छ । कोषले १९१ रुपैयाँ मूल्य तोकेको थियो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार न्यूनतम २०१ रुपैयाँदेखि माथि भाउ राखेर बोलपत्र भर्ने सबैले शेयर पाप्त गरेका छन् ।

कोषले १३ लाख ९४ हजार १९८ कित्ता साधारण शेयरका लागि प्रतिकित्ता १९१ का दरले २६ करोड ६२ लाख ९१ हजारमा उठाउन बोलपत्र पेश गरेको थियो । तर साधारण शेयरकाे न्यूनतम कटअफ नै २०१ कायम भएकाले काेषले साधारण शेयर प्राप्त गर्न नसकेकाे हाे ।

यता, संस्थापक तर्फको शेयरमा भने १०१ रुपैयाँ (कट अफ प्राइस) नै भाउ तोकेर बोलपत्र भर्नेले शेयर पाउनेछन् । यसमा १२० जनाले आवेदन दिएका थिए । नागरिक लगानी कोषले पनि संस्थापक तर्फको सबै कित्तामा १०१ रुपैयाँ भाउ तोकर आवेदन दिएको थियो । दुवै समूहको सम्पूर्ण लिलामी शेयर बिक्री भएको छ ।

एनसीसी बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । सो समयमा बैंकको आधारभुत शेयरधनीहरु एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद नभरेपछि एक करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित शेयर लिलामीमा ल्याइएको हो।

हाल ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एनसीसी बैंकको लिलामीमा हकप्रद बिक्रीपछि ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ भने राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी कायम गर्न बैंकलाई अझै चुक्ता पूँजीको ९८ करोड पूँजी वृद्धि आवश्यक देखिन्छ। यसका लागि कम्पनीले करिबक १४ प्रतिशत बोनस बाँड्नुपर्ने रहेकाले पनि बैंकको लिलामी शेयरमा आकर्षण देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया