आयल निगमका पूर्व कार्यकारी गोपाल खड्काले साढे १८ करोड भ्रष्टाचार गरेछन, २७ करोडमध्ये ८ करोड मात्रै वैध


आर्थिकन्यूज
गोपाल खड्का

काठमाडौं, पुस २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का माथि गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खडकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खडकाले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ ।

अख्तियारको आरोपपत्रअनुसार खडकाले ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको छ । वैध आम्दानीको तुलनामा अस्वाभाविक सम्पत्ति थुपारेको अभियोगमा अख्तियारले खडकामाथि मुद्दा चलाएको हो । आफूमाथि छानबिन थालेपछि खडका विदेश गएको अख्तियार स्रोतले जनाएको छ ।

खडकाले ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेको अख्तियारको दाबी छ । त्यसअघि इन्जिनियरका रूपमा सेवा सुरु गरेदेखि सडक विभागको सुपरिन्टेन्डेन्ट इन्जिनियर ९उपसचिवस्तर० बाट अवकाश हुँदासम्म उनले एक करोड २० लाख आर्जन गरेका थिए । उनी पछिल्लो समय आयल निगमको कार्यकारी निर्देशक थिए भने त्यही समय जग्गा खरिद अनियमिततामा मुछिएका थिए ।

उनले करिब साढे ४० लाख रुपैयाँ तलब बुझेकोमा जग्गा बिक्रीबाट ५८ लाख आम्दानी देखाएका छन् । घरभाडाबाट १३ लाख ५६ हजार बुझेको उल्लेख गरेका छन् । उनले ५ करोड ३३ लाखको ऋण सापटीलाई आर्जनका रूपमा व्याख्या गरेका थिए ।

अख्तियारका अनुसार खडकाको नाममा पुख्र्यौलीबाहेक ३ वटा घर निर्माण र खरिद गरेको भेटिएको छ । उनले २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएका थिए । उपत्यकाका तीन जिल्लासहित काभ्रेका विभिन्न स्थानमा उनले ११ कित्ता जग्गा किनेको भेटिएको छ । उनले घरजग्गामा मात्रै ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेको अख्तियारले जनाएको छ ।

एक करोड रुपैयाँको सेयर खरिद गरेका उनले ऋणको साँवा र ब्याज भुक्तानीमा ४ लाख २२ हजार खर्च गरेका थिए । एक करोड १७ लाख रुपैयाँको गाडी खरिद गरेका उनले विभिन्न बैंकबाट सुपरमार्केटहरूमा मात्रै एक करोड ८० लाख खर्च गरेको भेटिएको छ ।

विभिन्न ५५ वटा बैंक, सहकारी र वित्तीय संस्थामा उनले २ करोड ७१ लाख बचत गरेको अख्तियारले जनाएको छ । खडकाले अमिता लामा र श्रीमती शर्मिला खडकाको नाममा सम्पत्ति लुकाएको दाबीसहित अख्तियारले उनीहरूलाई समेत प्रतिवादी बनाएको छ । खडकाले अमिताको नाममा ७ करोड ५४ लाख ५७ हजार रुपैयाँ लुकाएको अख्तियारको दाबी छ ।

खडकाको काठमाडौंको महांकालस्थित सीजी डेभलपर्सले निर्माण गरेको घर ३ करोड २५ लाखको रहेको, त्यसमध्ये २० लाखबाहेक सबै भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ । उनले रोड शो रियलस्टेटले निर्माण गरेको घर खरिदका लागि ८९ लाख ८९ हजार रुपैयाँ ‘गुड फर पेमेन्ट’ चेक दिएको दाबी गर्दै अख्तियारले उक्त चेक जफत गर्न माग गरेको छ ।

सडक विभागमा कार्यरत रहँदै अनियमितता र विवादमा मुछिएका खडका अवकाशको केही महिनापछि आयल निगमको कार्यकारी निर्देशक पदमा पुगेका थिए । गत वर्ष निगमको जग्गा खरिद प्रकरणमा संसदीय छानबिनबाट दोषी ठहर भएपछि उनलाई सरकारले बर्खास्त गरेको थियो । त्यसलगत्तै सर्वोच्च अदालतमा रिट निवेदन दिएर अन्तरिम आदेशमार्फत पदमा बहाल भएका थिए । ओली सरकार गठन भएपछि जेठमा उनले राजीनामा दिए । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया