सरकार आफ्नो निर्णयमा पछाडि हटेकै हो त ? भारतीय मिडियामा यस्तो छ त हल्ला


आर्थिकन्यूज

काठमाडौं, पुस २४ । भारतले नेपालमा रहेका ५ सय र हजार दरका भारतीय नोट नसाटेको विषय हालसम्म सुल्झिन सकेको छैन । जसका कारण नेपालीसँग भएको मोटो रकम कागजको खोस्टासरह भएको छ ।

भारतसँग पटक–पटक सो विषयमा छलफल भए पनि निर्णय भने हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीसँग १००० दरका भारतीय नोट साटिदिन भारत भ्रमणको क्रममा समेत आग्रह गरे ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा समेत सो विषयलाई महत्वका साथ उठाएको बताए । तर, भारतले नेपालको आग्रहलाई स्वीकार गरेको छैन ।

पछिल्लोपटक नेपालले १०० दरको भारतीय नोट बाहेकको अन्य कुनै पनि भारतीय नोट नेपालमा नचल्ने निर्णय गरिदियो । जसका कारण २००, ५००, १००० र २००० का कुनै पनि भारतीय नोट नेपालमा नचल्ने भयो ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा भारतीय नोटमाथिको प्रतिबन्धले नेपाल भ्रमण वर्ष समेत प्रभावित हुन सक्ने भन्दै भारतीय सञ्चारमाध्यमले नेपालको पछिल्लो निर्णयलाई भरमार गाली गरेर समाचार सामग्री बनाए ।

नेपाली नागरिकसँग भएको नोट साटन् आलटाल गर्ने भारत सरकार र भारतीय रिजर्भ बैंकको चरित्रका बारेमा कुनै पनि समाचार नबनाएका भारतीय सञ्चार माध्यमले आफूलाई समस्या पर्दा भने त्यसको भरमार विरोध गरेर समाचार बनाए ।

पछिल्लोपटक नेपालले १०० भन्दा माथिका कुनै पनि नोट नचल्ने निर्णयले सीमा क्षेत्रका नागरिकलाई असर पर्ने देखिएकै थियो । सरकारको उक्त निर्णयले व्यापारिक तहमा समेत समस्या पार्ने बताइएको थियो । तर, सरकारले कुन प्रयोजनका लागि उक्त निर्णय गरेको थियो भन्ने बारेमा केही पनि बताएको थिएन ।

सरकारको प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा सो बारेमा जानकारी दिएका थिए । मन्त्रिपरिषद्ले निर्णय गरेको लामो समयसम्म पनि चुपचाप बसेर एक सातापछि मात्रै उक्त निर्णय सार्वजनिक गरिएको थियो ।

पछिल्लोपटक १०० माथिका भारु चलाउन राष्ट्र बैंकले आरबीआईलाई पत्र लेखेको भन्ने समाचार पुनः आएको छ । भारतीय सञ्चार माध्यममा सो विषयले प्राथमिकता पाएको छ ।

भारतीय केन्द्रीय बैंकलाई १०० भारुमाथिका नोट पनि नेपालमा चलाउन स्वीकृति दिन राष्ट्र बैंकले पत्र लेखेको भन्दै भारतीय सञ्चार माध्यमले त्यसलाई महत्वका साथ समाचार प्रकाशित गरेका छन् । भारतीय सञ्चार माध्यमहरु ‘न्युज १८’ अमर उजाला, दैनिक भास्कर, टाइम्स अफ इन्डियालगायका सञ्चारमाध्यमममा सो समाचारले प्राथमिकता पाएको छ ।

राष्ट्र बैंकले २००, ५०० र २००० दरका भारु नोटलाई नेपालमा चलाउन स्वीकृति दिन माग गरेको समाचारमा उल्लेख छ ।

नेपालको केन्द्रीय बैंकले आरबीआईलाई विदेशी विनिमय व्यवस्था ऐन अनुसार १०० भारु माथिका नोट चलाउनका लागि स्वीकृति दिन माग गरेको समाचारमा जनाइएको छ ।

यसले गर्दा १०० माथिका नोट पनि नेपालमा सहज कारोबार हुन्छन् र दुवैतर्फ आवतजावत गर्नेहरुलाई सहज हुन्छ भन्ने तर्क नेपालले राखेको समाचारमा उल्लेख गरिएको छ ।

आरबीआईले अहिले १०० भारुसम्मका नोट नेपालमा चलाउन स्वीकृति दिएको छ । भारतमा नोटबन्दी हुनुअघि ५०० र १००० दरका नोट पनि नेपालमा चलन चल्तीमा रहेका थिए । एक नेपालीले २५ हजार भारतीय रुपैयाँसम्म बोक्न पाउने व्यवस्था गरिएको थियो ।

नोटबन्दीपछि नेपालमा रहेका भारतीय ठूला दरका नोट कागजको खोस्टासरह भएका थिए । पुराना ठूला दरका नोटमा प्रतिबन्ध लागेपछि हालसालै नेपालले पनि १०० माथिका नयाँ नोट नेपालमा नचलाउन भन्दै प्रतिबन्ध लगाएको थियो ।

नेपाल सरकारले आफ्नै निर्णय विपरित पुनः ठूला नोट चलाउन दिन आग्रह गर्दै पत्र लेखेको भन्दै समाचार छापेको छ । समाचारमा बैंकका एक उच्च अधिकारी भीष्म ढुंगानले पत्र लेखेको स्वीकार गरेको समेत उदृत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया