पैसा निकालेपछि सर्वोच्चको आदेश सुमार्गीको खाता रोक्नू , अदालतको अन्तरिम आदेशबाटै सुमार्गीले पैसा उम्काइसके


आर्थिकन्यूज

काठमाडौं, पुस २५ । विदेशी लगानीका रूपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो ।

उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) रकम बैंकबाट झिकिसकेका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघिको उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिनू र उनको खाता पहिलेकै अवस्थामा राख्नू भनी आदेश जारी गरेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दुईपक्षीय छलफल नै नगरी अघिल्लो पटकको अन्तरिम आदेश नै फैसलाजस्तो हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिन् । ‘पैसा निकालिसकेपछि अहिले आएको अर्को आदेशकोके अर्थ रु अहिलेका प्रधानन्यायाधीशलाई पहिलेका न्यायाधीशले गरेको आदेश सही नलागेर अर्को आदेश दिए । इज्जत जोगाए,’ कार्कीले भनिन्, ‘आफ्नोकर्तव्य पूरा गरे । पैसा लगिसकेको बारेमा अब सरकारले दह्रो भएर हेर्नुपर्छ । चलिरहेको मुद्दामा योभन्दा बढी के भनौं र १’ सुमार्गीले पैसा झिकिसके पनि मंगलबारको आदेश उक्त रकम पहिलेकै अवस्थामा कायम राख्नू भन्ने छ ।

‘अन्तरकालीन आदेश जारी हुनुभन्दा अघिको अवस्थामा बैंक खातालगायत जे–जस्तो अवस्थामा थियो, सोही अवस्थामा अर्को आदेश नभइन्जेलसम्म यथावत् राख्नू भनी विपक्षीका नाममा आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

यसअनुसार राष्ट्र बैंकले कस्तो कदम चाल्ने छ रु भन्ने प्रश्नमा अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन् । आदेशपछि सुमार्गीले झिकिसकेको रकम फिर्ता हुने हो वा लगिएकै अवस्था कायम हुने भन्ने अन्योल देखिएको छ ।

‘पहिलेको आदेशअनुसार पैसा लैजाने कार्यान्वयन भइसकेको छ भने अहिलेको आदेश प्रभावशून्य हुन्छ,’ संविधानविद् विपिन अधिकारीले भने, ‘आदेश प्रभावशाली र परिणाम दिने, असान्दर्भिक नभएको अवस्थामा दिनुपर्छ भन्ने सैद्धान्तिक कुरा हो ।’ सर्वोच्चको पछिल्लो आदेश परिणाममुखी हुन सुमार्गीको रकम पहिलेकै अवस्थामा आइपुग्नुपर्ने हुन्छ । यसबारे राष्ट्र बैंकले कस्तो भूमिका खेल्ने छ भन्नेमा निर्भर गर्ने छ । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया