तामाकोशीको शेयर कारोबार सुरु, लगानीकर्ताकाे लगानी १२४ प्रतिशतले वृद्धि


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । अपर तामाकोशी हाइड्रोपावरको शेयर कारोबार आजदेखि सुरु भएको छ । नेपाल स्टक एक्सचेन्जले तामाकोशीको पहिलो कारोबारका लागि ७४ रुपैयाँ ८९ पैसादेखि २२४ रुपैयाँ ६७ पैसा ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो शेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।

अपर तामाकोशीले सेयर कारोबारका लागि ‘युपीपीइआर’ संकेत पाएको छ । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर बिहीबार सूचीकरण गराएको थियो । सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो शेयर बिक्री गर्न सक्नेछन् । तर स्थानीय बासिन्दाले किनेको शेयर भने ३ वर्षसम्म कारोबार हुनेछैन । तामाकोशीको शेयर लगानीकर्ताको डिम्याट खातामा समेत आइसकेको छ ।

अपर तामाकोशीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये १ करोड ५० लाख ९० हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त शेयरको बाँडफाँट मंसिर ११ गते भएको हो ।

आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदकमध्ये १ लाख ६१ हजार ३०० जनाले ४० कित्ताका दरले सेयर पाएका थिए । यस्तै, बाँकी १ लाख ७२ हजार ७७५ जना आवेदकलाई १० कित्ता थप गरी ५० कित्ता सेयर दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया