कर्मचारीतन्त्रमा संक्रमणकाल, कर्मचारी लोकसेवाको विज्ञापन अवरुद्ध


आर्थिकन्यूज
फाइल फोटो

काठमाडौं, चैत ३० । वर्ष २०७५ कर्मचारी प्रशासनमा उतारचढावपूर्ण रह्यो। मुलुक संघीयतामा गएकाले धेरै अभ्यास नौलो हुनु स्वाभाविकै हो। अघिल्लो वर्ष स्थानीय तह, प्रदेश र संघको निर्वाचन भए पनि ७५३ स्थानीय तह र ७ प्रदेशमा कर्मचारी अभाव भइरह्यो। निर्वाचन नहुँदै तीनवटै तहमा कर्मचारी पूर्ति भइसक्नुपर्ने थियो। तर कर्मचारी अभावमा अझैसम्म सेवा प्रवाह प्रभावित भएको छ।

समायोजन नहुँदा कामकाजका लागि खटाएका कर्मचारी प्रदेश र स्थानीय तहका टिक्न सकेनन्। एउटै स्थानीय तह र प्रदेशका मन्त्रालयमा पटकपटक कर्मचारी फेरबदल भइरहे। कर्मचारी व्यवस्थापन प्रभावित हुँदा विकास निर्माण पनि अपेक्षित रुपमा अघि बढेन। प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवथापनको विषयमा ठूलै असन्तुष्टि रह्यो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेशकुमार अधिकारीले कर्मचारी व्यवस्थापन नहुँदा स्थानीय तह र प्रदेशको कामकारबाही प्रभावकारी हुन नसकेको बताए।

नेपालको प्रशासन संघीय ढाँचामा गएको छ। संघमा ४८ हजार, प्रदेशमा २२ हजार र ६६ हजार स्थानीय तहको दरबन्दी कायम गरिएको छ। यही वर्ष कर्मचारीको समयोजन छ। संघमा ३५ हजार, प्रदेशमा १३ हजार र स्थानीय तहमा ४८ हजार कर्मचारी समायोजन भएका छन्। समायोजनमा कर्मचारी रोज्न अवसर प्रदान गरियो। धेरैले संघ नै रोजे।

केहीले स्थानीय तहका सुगम स्थान रोजे। समायोजनले दुर्गमका स्थानीय तहमा भने कर्मचारी खाली गरायो। यसो हुँदा पनि यो समायोजनलाई कर्मचारीले पचाउन सकेका छैनन्। राजनीतिक, आर्थिक, सामाजिक संरचनाका कारणले कर्मचारीलाई स्थानीय तहका गएर काम गर्न सहज छैन। स्थानीय र प्रदेशका कानुन पनि बनेका छैनन्।

एक वर्षदेखि लोकसेवाको विज्ञापन हुन सकेको छैन। कर्मचारी समायोजनका कारण आयोगको कार्यतालिका प्रभावित भएको छ। यस वर्ष कर्मचारी विज्ञापन आह्वान हुन सकेको छैन। हजारौं युवा विद्यार्थी लोक सेवाको विज्ञापनको प्रतीक्षामा छन्। सरकारले चैत मसान्तभित्र २० हजार कर्मचारी विज्ञापन गर्ने घोषणा गरे पनि कार्यान्वयन भएको छैन।

लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्मा सरकार भन्नेबित्तिकै विज्ञापन खोल्न सक्ने तयारी अवस्थामा रहेको दाबी गर्छन्। सम्बन्धित मन्त्रालयले कर्मचारीको माग विवरण नपठाएसम्म विज्ञापन खोल्ने अवस्था नरहेको उनले बताए ।अन्नपूर्ण पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया