अर्थका अधिकांश ढोका बन्द, बजेट बनाउने तयारीमा जुटे


आर्थिकन्यूज

काठमाडौं, बैशाख ३ । मुलुकको वागडोर सञ्चालन गर्ने पाँच वर्षे जनादेश पाएको केपी शर्मा ओली नेतृत्वको सरकार दोस्रोपटक पूर्ण आकारको बजेट बनाउने तयारीमा जुटेको छ।

ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा, उनको मन्त्रालयका अधिकारीहरु र राष्ट्रिय योजना आयोगका अधिकारीहरु आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट बनाउन व्यस्त भएका छन्। जथाभावी हुने बाहिरी हस्तक्षेपलाई रोक्न अहिले अर्थका अधिकांश ढोका बन्द गरिएका छन्।

लामो समयदेखि बजेटमा राजनीति भएपछि संविधानमै जेठ १५ गते अनिवार्य रुपमा बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ। यही व्यवस्था अनुसार बजेट बनाउने जिम्मेवारी पाएकाहरु तयारीमा जुटेका हुन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय योजना आयोगसँग बजेट तयारीबारे एक चरणको छलफल सकिएको छ। आयोगले आगामी वर्षका लागि बजेटको सीमा सिलिङ करिब १५ खर्ब रुपैयाँ तोकेको छ।

यही सेरोफेरोमा रहेर अहिले बजेट बनाउने तयारी भएको हो। आयोगले गत फागुन अन्तिममा सीमा तोकेर पठाएको भए पनि लगानी सम्मेलनका कारण बजेट तयारीमा केही ढिलाइ हुन पुगेको थियो। अर्थ मन्त्रालय चैत १५ र १६ गतेको लगानी सम्मेलन सम्पन्न भएपछि मात्र बजेटको तयारीमा लागेको हो। अर्थसँगै अन्य मन्त्रालय पनि आफूले पाएको सीमाभित्र बजेटको तयारीमा लागेका छन्।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार अहिले अर्थ र योजना आयोगका अधिकारी तथा विभिन्न मन्त्रालयका पदाधिकारीहरुबीच बजेट बनाउन छलफल चलिरहेको छ। हरेक दिनजसो मन्त्रालयपिच्छेका कर्मचारीसँग छलफल चलिरहेको उनले बताए।

‘आयोगबाट प्राप्त बजेट सीमा र मार्गदर्शन अनुसार बजेटको तयारी भइरहेको छ,’ प्रवक्ता खत्रीले भने, ‘संविधानमा निर्धारित समय जेठ १५ मै बजेट ल्याउने गरी तयारी भइरहेको छ।’ अहिले सम्बन्धित मन्त्रालयका अधिकारीहरुसँग विषयगत छलफल चलिरहेको उनले बताए। यही क्रममा राजस्व परामर्श समिति लगायत विभिन्न समितिसँग पनि छलफल भइरहेको उनले बताए।

मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले आगामी बजेटमा समावेश गर्नुपर्ने राजस्व नीति, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तः शुल्क, गैरकर तथा राजस्व चुहावट नियन्त्रण र समग्र प्रशासन सुधार लगायत विषयमा सुझाव मागेको छ।  विभिन्न क्षेत्रबाट प्राप्त हुने सुझाव तथा परामर्शलाई आगामी बजेटमा समावेश गरिने मन्त्रालयले जनाएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया