कोशीपारि जान वैकल्पिक सडक सोमबारदेखि सञ्चालनमा


आर्थिकन्यूज

बनेपा, वैशाख ३ । जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि शुरु भएको हो ।

सो मोटर बाटो खुला गर्न विगत नौ वर्षदेखि नै काम शुरु गरे पनि सम्पन्न हुनसकेको थिएन । डिभिजन सडक कार्यालयको करीब रु एक करोडको लागतमा सडकको ट्र्याक खुला गरेपछि यात्रुबाहक बस सञ्चालनमा आएको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताउनुभयो ।

सडक खन्ने काम सम्पन्न भएपछि यात्रुबाहक बस सञ्चालनमा ल्याइएको उल्लेख गर्दै अध्यक्ष कुँवरले अब सो भेगका स्थानीय बासिन्दाका लागि आवतजावतमा सहज हुनुका साथै त्यहाँ उत्पादन गरेका तरकारी बजारसम्म पु¥याएर आम्दानी गर्न सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नौ वर्ष अगाडिदेखि शुरु भएको बाटो यसअघि सापिङ गाविसबाट रु एक लाख ७५ हजार रकम छुट्याएर शुरु गरेकामा माथिबाट र तलबाट गरी दोहोरो शुरु गरे पनि भट्टेटार भन्ने स्थानमा करीब ७०० मिटर चट्टाने भीर परेका कारण खुल्न सकेको थिएन, ट्र्याक खोल्न डिभिजन सडक कार्यालयमार्फत काम गरेपछि अहिले यो काम सम्पन्न गरी बस सञ्चालनमा ल्याएका हौँ ।”

सडकलाई थप विस्तार गर्न यसै वर्ष प्रदेश सरकारको रु ५० लाख योजना परिसकेको गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो । जिल्लाको कोशीपारि सञ्चालन हुँदै आएको पुरानो बाटो मर्मत सुधार गर्नुपर्ने भएका कारण बन्द भएपछि सो सडकलाई सोमबारदेखि नै खुला गरिएको छ । पहिलादेखि सञ्चालनमा आएको सडकहुँदै कोशीपारिको बेखसिम्ले पुग्नलाई चार घण्टा लाग्ने गरेकामा अब भने सो नयाँ सडकबाट दुई घण्टामा नै पुग्नसक्ने स्थानीय उद्धवराज गिरीले बताउनुभयो ।

स्थानीय बासिन्दा देवीप्रसाद पन्तले धेरै पहिलादेखि खन्न शुरु गरेको भए पनि रकम अभावका कारण खोल्न नसकेको सडकमा अहिले यात्रुबाहक बस सञ्चालनमा आएपछि गाउँमा उत्पादन हुने नगदेबाली बजारीकरण गर्नका लागि निकै सहज हुने र भाडा पनि कम लाग्ने बताउनुभयो ।

यसअघि जिल्लाको भुम्लु र चौँरीदेउराली गाउँपालिका जानका लागि दोलालघाट हुँदै सल्ले–चौबास–भएर जानुपथ्र्यो । सो सडक खण्डहँुदै छिमेकी जिल्ला सिन्धुपाल्चोकको लिसङ्खुपाखर, बाफल र रामेछापको गुराँसेसम्म यात्रुबाहक बस चल्ने गरेको छ ।

त्यसका लागि दोलालघाट पारिबाट एउटैमात्र सडक भएका कारण समस्या भोग्दै आएकामा अब सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । अरनिको यातायात सेवा समितिले सो क्षेत्रका लागि दैनिक २८ यात्रुबाहक बस सञ्चालनमा ल्याइरहेको समितिका अध्यक्ष चित्रबहादुर कुँवरले बताउनुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया