aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिन्धुलीका उत्पादन जापानमा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १९ फागुन २०७६
सिन्धुलीका उत्पादन जापानमा

काठमाडौं । सिन्धुली कमलामाई नगरपालिका ६, धुराबजारका महिलाहरूद्वारा सञ्चालित सौगात ललिपप उद्योगले आवश्यक लगानी बढाउन नसक्दा सम्भावना रहँदारहँदै पनि सीमित आम्दानीमा चित्त बुझाउनु परेको छ । सौगात लघु उद्यम सहकारी संस्थाका सदस्यद्वारा नै सञ्चालन गरिएको सो उद्योगले सहुलियतपूर्ण ऋण पाउन नसक्दा समस्या भएको सहकारीकी अध्यक्ष एवं उद्योग सञ्चालिका विमला थापाले बताए ।

अध्यक्ष थापाले भने “हामीले २०७४ सालमा १० हजार रुपियाँ लगानीबाट ललिपप उद्योग सुरु गरेका थियौैँ, विकास बैङ्कहरूमा ऋण लिन जाँदा धितो माग्छ, सहकारीबाट ऋण लिँदा १८ प्रतिशत ब्याज तिनुपर्छ, यी हाम्रो लागि महँगा भए, हामीले बिनाधितो सस्तो ब्याज दरमा ऋण पाउन सक्यौँ भने काम गर्न सक्छौँ । ”

‘सदस्यहरूले सुरुका दिनमा कराइमा खुवा बनाएर ललिपप बनाउनु हुन्थ्यो । गतवर्ष कमलामाई नगरपालिकाले दूध तताउने मेसिन सहयोग स्वरुप प्रदान गर्यो । यसले उत्पादन वृद्धिमा धरै मद्दत पु¥यायो ।’ नगरपालिकाले भवन निर्माणका लागि पनि सहयोग गरेको थापाको भनाइ छ । अहिले धुराबजारमा उनिहरूले छ कट्ठा जमिन लिजमा लिएर उद्योगको अस्थायी भवन बनानएका छन् ।

उद्योगले दूधजन्य ललिपप, चकलेट, पुस्टकारी उत्पादन गर्छ । साथै उत्पादन विस्तार गर्ने क्रममा अहिले फुरन्दाना, तितौरा, गुन्द्रुक, जुनारको जुसजस्ता स्थानीय कच्चा पदार्थमा आधारित वस्तुको उत्पादन पनि थालिएको छ । ‘हाम्रो उद्देश्य नै स्थानीय उत्पादन प्रशोधन गरी आफ्नो व्यवसाय विस्तार गर्नु हो–सञ्चालिका थापा प्रस्ट्याउनु हुन्छ । उनि भन्छन्, “सहुलियतपूर्ण ऋण पाए सहकारीका सदस्यले घरमा उत्पादन गरेको मकै, कोदो, फापरलगायत स्थानीय उत्पादन हामीले खरिद गर्ने थियौँ र उत्पादन बढाउने थियौँ, बजारीकरण राम्रोसँग गर्ने सोच छ, हामीले स्थानीय उत्पादनबाटै उद्योग चलाउने हो । ”

उद्योगले सहकारीका सदस्यकै घरबाट दैनिक ४० लिटर दूध खरिद गरी महिनामा ६० किलो चकलेट उत्पादन गर्दछ । सहकारीका चार सदस्यले रोजगारी पाएका छन् । उद्योगले गतवर्ष छ लाखको कारोबार गरेको कोषाध्यक्ष कमला बरालले जानकारी दिए । आफूहरूको उत्पादन सिन्धुलीमाभन्दा पनि काठमाडौँमा बिक्री हुने उनी बताउँछन् । सहकारीमा चार सय सदस्य छन् । २२ लाख रुपियाँ बचत छ । कुल पुँजी ८४ लाख रुपियाँ पुगेको छ । उद्योगले सहकारीबाट एक लाख रुपियाँ ऋण लिएको छ तर सहकारीको १८ प्रतिशत ब्याज आफूहरूका लागि महँगो भएको थापाको भनाइ छ ।

उद्योग विस्तार गर्न जापानी सहयोग नियोग
(जाईका) ले नेपाल सरकारलाई गरेको प्राविधिक सहयोगअन्तर्गत जापानी स्वयंसेवकको सहयोग रहेको छ । अध्यक्ष थापा भन्छन् “सुरुमा हामीलाई बजार व्यवस्थापनबारे खासै थाहा थिएन । जाईकाबाट आउनुभएकी स्वयंसेविका मक्की कसाकुले व्यवस्थापन, सरसफाइ, प्याकेजिङजस्ता महत्वपूर्ण विषयमा हामीलाई सिकाउनुभयो, बजारमा हामीलाई लिएर जानुभयो, उद्योगको प्रचारप्रसार गरिदिनुभयो सहयोग जुट्छ कि भनेर विभिन्न निकायमा सम्पर्क गराउनुभयो । उद्योग सञ्चालनको सुरुआतमा हाम्रा लागि यो अत्यन्त्यै ठूलो सहयो थियो । अहिले हाम्रो उत्पादन जापानमा पनि निर्यात हुने गरेको छ । यो हाम्रा लागि निक्कै ठूलो मौका हो । ” उद्योग विस्तार गर्नसके उत्पादनका लागि बजार विस्तार सम्भव छ भन्ने देखाएको छ, उहाँ थप्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस