aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर पाइन छाड्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, २३ फागुन २०७६
स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर पाइन छाड्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मामिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ ।

केही दिनअघि बजारमा मास्कको मात्रै अभाव भइरहेकोमा हाल ह्यान्ड स्यानिटाइजर समेत पाइन छोडेको र मूल्य पनि जथाभावी लिन थालिएको अलमेड सर्जिकलका सुदीप घिमिरेले बताए । ह्यान्ड स्यानिटाइजरको मूल्य अहिले भारतमा समेत महँगिएको उनले बताए । कोरोनाको त्रास बढेसँगै वस्तुको माग बढ्दै गएपछि अभाव हुन गई मूल्य बढेको व्यवसायी बताउँछन् ।

विभिन्न बैंक, विद्यालय, तथा कार्यालयबाट समेत ह्यान्ड स्यानिटाइजरको माग बढिरहेकोले अभाव हुन गएको हो । पछिल्लो समय कतिपय विद्यालयले विद्यार्थीलाई ह्यान्ड स्यानिटाइजर र मास्क अनिवार्य गरेका छन् । 

सामान्य अवस्थामा बजारमा प्याकेटको ३०० रुपैयाँ पर्ने पेपर मास्कको मूल्य यतिबेला २  हजार ५०० रुपैयाँसम्म पर्ने गरेको त्रिपुरेश्वरस्थित सर्जिकल पसलका सञ्चालकले बताए । एक प्याकेटमा ५० थान पेपर मास्क हुन्छ । उनका अनुसार सर्जिकल हाउसमा मास्क सकिएको २ महीना बितिसकेको छ ।

नेपालमा सञ्चालित मास्क उद्योगले अहिले व्यापारीको फोन समेत नउठाउने र उत्पादित मास्क महँगो मूल्यमा चीनतिर निर्यात गर्ने गरेको उनले बताए । ज्वरो नाप्नका लागि प्रयोग हुने इन्फ्रारेड थर्मोमिटर समेत बजारमा आयात हुन सकेको छैन । कोरोनाको संक्रमण बढ्दै गएका बेला यो थर्मोमिटर नै प्रयोग गर्नुपर्ने अवस्थामा यसैको अभाव रहेको कृष्ण सर्जिकल, त्रिपुरेश्वरकी सञ्चालिकाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस