काठमाडौँ । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालको विकास–निर्माणमा समेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ । अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन ।
चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ वर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, इन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरू प्रभावित भएका हुन् । नेपालमा काम गर्न तीन वर्षयता श्रम स्वीकृति लिएका विदेशी कामदारमध्ये सबैभन्दा बढी (६० प्रतिशत) चिनियाँ छन् ।
स्वीकृति लिएका चिनियाँ कामदारको संख्या ३ हजार ५ सय ८७ छ । तीमध्ये धेरैजसो कोरोना भाइरस फैलिनुपूर्व चिनियाँ वसन्त चाड (नयाँ वर्ष) मनाउन घर गएकामा उतै रोकिएका छन् । यसबाट चिनियाँ श्रमिक वा लगानीकर्ता प्रत्यक्ष संलग्न नभएका आयोजनामा समेत असर परेको छ । फलस्वरूप आयोजनाको अवधि लम्बिने मात्रै हैन, सरकारी बजेट निकै कम खर्च भइरहेको बेला पुँजीगत खर्च झन् कम हुने सम्भावना छ ।
अध्ययन रोकियो
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा तय गरिएको परियोजनाको अध्ययन तथा थप प्रक्रिया अघि बढाउने विषयसमेत कोरोनाका कारण रोकिएको छ । ९८ प्रतिशत सुरुङ हुने ७२ किलोमिटरको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अवरुद्ध भएको छ । मंसिरमा नेपाल–चीनका अधिकारीहरूबीच बढीमा साढे दुई वर्षभित्र यो काम सक्ने समझदारी बनेको थियो । ‘अध्ययन गर्न आउने भनिएको टोली अहिले बेखबर छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने ।
चक्रपथ विस्तार (दोस्रो चरण) को विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न चिनियाँ टोली फागुनमा नेपाल आउने तय भएको थियो । कोरोनाले उनीहरू आउन नसक्दा अध्ययनको काम अन्योलमा परेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘फागुनमा अर्थ मन्त्रालयले बोलाउने कुरा थियो,’ उनले भने, ‘कोरोनाले गर्दा अहिले बोलाइएको छैन ।’
काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेर ९ जनाको चिनियाँ टोली माघमा चीनतिर लागेको थियो । ‘चैत तेस्रो सातासम्म चीन सरकारलाई रिपोर्ट बुझाउने कुरा भएको हो,’ थापाले भने, ‘तर चीन फर्किएको टोली हाम्रो सम्पर्कमा छैन ।’ उनका अनुसार प्रारम्भिक अध्ययनपछि डीपीआरका लागि अगाडि बढ्ने कुरा थियो । काठमाडौं मेट्रो रेल आयोजनाका पाँच खण्डमध्ये एक खण्डको अध्ययन चिनियाँ टोलीले फागुन दोस्रो साताबाट सुरु गर्ने तय भएको थियो । ९ वर्षपछि हुन लागेको यो अध्ययनको काम पनि रोकिएको रेल विभागका महानिर्देशक मिश्रले जानकारी दिए । ‘सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकको १२ दशमलव १० किमि क्षेत्रको डीपीआर सुरु गर्ने गरी टोली आउने सहमति भएको थियो,’ उनले भने, ‘अहिले टोलीले इमेलमार्फत आउन नसकेको जानकारी गराई अध्ययनको समय सार्न भनेको छ ।’ सन् २०११ मा कोरियन कम्पनीले प्रारम्भिक अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रिपोर्ट बुझाएको थियो ।
गौरवका आयोजना
कोरोना भाइरसको प्रभाव निर्माण सम्पन्न हुने अवस्थामा पुगेका राष्ट्रिय गौरवका आयोजनामा पनि परेको छ । प्राविधिक, कामदार र उपकरण नआउँदा गौतम बुद्ध क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिको गति घटेको छ । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ठेक्का लिएको विमानस्थलमा कार्यरत प्राविधिकसहितको टोली नयाँ वर्ष मनाउन गएपछि फर्किएको छैन । टर्मिनल भवनको उपकरण ‘कन्ब्यारो बेल्ट’ र धावन मार्गको रनवे लाइट चीनबाट ल्याउने तयारी भइरहेको थियो तर आयात रोकिएपछि अन्तिम समयमा ती काम रोकिएको विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘झन्डै २० जना दक्ष प्राविधिक चीनमै रोकिएका छन्,’ उनले भने, ‘अन्य कामदार पनि फर्केका छैनन् ।’ विमानस्थलको काम १३ प्रतिशत बाँकी छ भने निर्माण सम्पन्न अवधि सकिन एक महिना मात्र बाँकी छ । २०७१ कात्तिकबाट निर्माण सुरु भएको विमानस्थलको लागत ६ अर्ब ८२ करोड छ । ०७६/७७ भित्र सक्नुपर्ने भए पनि कोरानाका कारण निर्माण कार्य केही पछि धकेलिने देखिएको छ ।
कामदार नफर्कंदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा असर देखिन थालेको छ । मुख्य सडकबाट विमानस्थलसम्म पुग्ने सडक माघ तेस्रो साताबाट ढलान गर्ने भनिए पनि काम अघि बढेको छैन । आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार नयाँ वर्ष मनाउन गएका ८७ जना कामदार चीनबाट आउनुपर्ने हो । ३६ जना फर्किसकेका छन् । बुधबार १४ जना हेल्थ सर्टिफिकेट लिएर काठमाडौं आइपुगेको उनले बताए । ‘धेरै कामदार उतै अड्किँदा कार्यतालिकाअनुसार काम गर्न सकिएको छैन,’ उनले भने । नयाँ कामदार ११५ जना आउनुपर्नेमा ३६ जना मात्र आएका छन् । विमानस्थलमा २५० भन्दा बढी चिनियाँ कामदार कार्यरत छन् । यो विमानस्थलको निर्माण आव २०७१/७२ बाट सुरु भएको हो । ०७९/८० भित्र सक्ने लक्ष्य रहेको यो आयोजनाको कुल लागत २१ अर्ब ६० करोड छ ।
स्याफ्रुबेंसी–रसुवागढी सडक
चीन सरकारको सहयोगमा निर्माणाधीन स्याफ्रुबेंसी–रसुवागढी खण्डको १७ किलोमिटर सडक निर्माण झन्डै तीन महिनादेखि ठप्प छ । नयाँ वर्ष मनाउन बेलैमा चिनियाँ कामदार उता गएको र नफर्किएपछि दुई लेनको उक्त खण्डको काम रोकिएको हो । ‘आउन ढिला हुन्छ, अहिले सडक किनारमा पर्ने घरटहरा भत्काउँदै गर्नू भन्ने सन्देश पठाएका छन्,’ गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका योजना प्रमुख नारायणदत्त भण्डारीले भने । आयोजना प्रमुखका अनुसार निर्माणमा एक सय चिनियाँले काम गरिरहेका थिए । ७० चिनियाँ कामदार नयाँ वर्ष मनाउन गएपछि फर्किएका छैनन् । कोरोना भाइरस फैलिएलगत्तै चीनले रसुवागढी नाका बन्द गरेपछि सडक निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल सामान केरुङमैअड्किएका छन् ।
बुटवल–नारायणगढ सडक
बुटवल–नारायणगढ सडक विस्तारको काम पनि प्रभावित भएको छ । चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनले काम गरिरहेका १ सय १३ किलोमिटर सडक विस्तारमा चिनियाँ प्राविधिक नआउँदा काम प्रभावित भएको हो । गैंडाकोट–दाउन्ने सडक खण्डका प्रमुख सुजन अधिकारीले आयोजनाको निर्माण कम्पनीतर्फका प्रमुख नै नभएको बताए ।
प्रतिक्रिया दिनुहोस