aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

१५ जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा कम

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २५ फागुन २०७६
१५ जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा कम

काठमाडौं । कुनै समयमा शेयरबजारका लगानीकर्ताको पहिलो रोजाइमा रहेको जलविद्युत् कम्पनीको शेयरमा पछिल्लो समय आकर्षण घट्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३३ जलविद्युत् कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम रहेको छ । प्राथमिक बजारमा रू. १०० मा यी कम्पनीको शेयर किनेका लगानीकर्ताले सो मूल्यभन्दा पनि कममा कारोबार गर्नुपर्ने अवस्था आएको छ । 

पछिल्लो समयको कारोबारलाई आधार मान्दा अंकित मूल्यभन्दा कम मूल्य भएका कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य आँखुखोला जलविद्युत् कम्पनीको छ । फागुन २२ गते यस कम्पनीको अन्तिम शेयरमूल्य रू. ५३ कायम भएको हो ।

अहिले आँखुखोलाको प्रतिशेयर आम्दानी रू. १ दशमलव १४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७२ दशमलव २९ छ । यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थालाई हेर्दा कम्पनी रू. ९१ लाख ५४ हजार घाटामा छ । यद्यपि यस वर्ष कम्पनीले रू. १२ करोड २७ लाखभन्दा बढी आम्दानी गरेको छ । तर, सञ्चालन नाफा गतवर्षभन्दा कम भएकाले कम्पनीले घाटा बेहोर्नु परेको हो । गतवर्ष रू. ७ करोड २१ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ८४ लाखमात्र सञ्चालन नाफा छ । 

लगानीकर्ताले कम्पनीको आधारभूत तथा प्राविधिक पक्षलाई ध्यान दिएर लगानी गर्ने भएकाले आँखुखोलाले भविष्यमा आकर्षक प्रतिफल दिनसक्ने सम्भावना कम देखेरै यस कम्पनीको शेयरमा आकर्षण कम भएको हो ।

यद्यपी राम्रै नाफा आर्जन गरेका जलविद्युत् कम्पनीहरूको शेयरमूल्य पनि अंकित मूल्यभन्दा कम देखिएको छ । प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ७ रहेको अरूणभ्याली हाइड्रोपावर कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा रू. ३ करोड ३० लाखभन्दा बढी नाफा आर्जन गरेको छ ।

यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ८६ छ । यस कम्पनीको वित्तीय अवस्थालाई हेर्दा अंकित मूल्यभन्दा कम मूल्य कायम हुनुपर्ने स्थिति नदेखिए पनि गत बिहीवार यो कम्पनीको शेयरमूल्य रू. ९८ कायम भएको छ । अरुणभ्यालीसँगै छ्याङ्दी हाइड्रो, वरुण हाइड्रो, नेशनल हाइड्रो, रैराङ हाइड्रो, रिडी हाइड्रो, युनियन हाइड्रो तथा युनिभर्सल पावर पनि नाफा आर्जन गरेका कम्पनीको सूचीमा पर्छन् । तर, यी कम्पनीको शेयरमूल्य अंकितमूल्यभन्दा तल रहेको छ ।

शेयरधनी दुर्गा तिवारीले जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा तल झर्नुमा नियमनकारी निकायको प्रभावकारी नियमन नहुनु कारण रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस