aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यसरी गुम्दैछ आन्तरिक विमान कम्पनीको ४ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
यसरी गुम्दैछ आन्तरिक विमान कम्पनीको ४ अर्ब

काठमाडौं । विदेशी पर्यटकको संख्या घटेसँगै नेपाली वायुसेवा कम्पनीले आन्तरिक उडानमा करीब रू.४ अर्ब रूपैयाँ बराबरको व्यापार गुमाउने देखिएको छ । सन् २०२० को पहिलो २ महीनामै आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घट्दा रू. ४ अर्ब बराबरको व्यवसाय घटेको आकलन व्यवसायीले गरेका छन् । वायुसेवा सञ्चालकहरूले व्यवसायलाई जोगाउन विभिन्न वैकल्पिक उपाय अवलम्बन गर्न रायसहित सरकारसँग राहतको प्याकेजसमेत माग गरेका छन् ।

आउँदो वसन्त ऋतुका लागि भएको पर्यटक बुकिङसमेत धमाधम रद्द भइरहेको र कोरोना संक्रमण लम्बिँदै गए असर अझै बढ्ने उनीहरूले बताएका छन् । स्वदेशी र विदेशी पर्यटकको आवतजावत घट्दा व्यवसाय कसरी बचाउने भन्ने अवस्था सृजना भएको बताउँदै सरकारसँग सहुलियत ऋण र पुनर्कर्जाको सुविधा उपलब्ध गराइदिन माग गरेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ । समस्या लम्बिए कतिपय वायुसेवा कम्पनीहरू बन्द हुने अवस्था आउन सक्ने संघको भनाइ छ । विमान सेवा कम्पनीलाई जोगाउन सरकारसँग राहत प्याकेज माग गरिएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । संघले खर्चमा मितव्ययिता अपनाउने, आलोपालो विमान तथा हेलिकोप्टरहरू भूमिस्थ (ग्राउन्डेड) गर्ने र कर्मचारीलाई बेतलबी बिदामा बस्न प्रोत्साहन गर्ने निर्णयसमेत गरेको क्या. थापाले बताए ।

बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न, हवाई इन्धनको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन तथा मूल्य कम्तीमा ३० प्रतिशत घटाउन र विमानस्थलमा लाग्ने शुल्क छूट गर्नसमेत सरकारसँग माग गरिएको संघका महासचिव तथा प्रवक्ता योगराज कँडेलले बताए ।

‘कोरोनाको प्रभाव पार्ने पहिलो क्षेत्र पर्यटन उद्योग हो । नेपालमा हालसम्म यसको प्रकोप नदेखिए पनि सबैभन्दा बढी असर यो उद्योगलाई पर्न थालेको छ । त्यसैले पनि हामीले सरकारलाई वस्तुस्थितिको जानकारी गराएर आफ्ना मागहरू राखेका हौं,’ उनले भने ।

विभिन्न देशहरूले विमान सेवा कम्पनीहरूका लागि प्याकेजको घोषणा गर्न थालेको जानकारी दिँदै उनले विश्वप्यापी अभ्यासको आधारमा सरकारले सहुलियत ल्याउनुपर्ने बताए । नेपाल वायुसेवा सञ्चालक संघका अनुसार हाल नेपालमा १० ओटा हेलिकोप्टर कम्पनी र नौओटा फिक्सविङ विमानसेवा कम्पनी सञ्चालनमा छन् । यो सिजनमा गत वर्षको तुलनामा प्रतिदिन ३ हजारका दरले पर्यटक संख्या घटेको संघका प्रवक्ता कँडेलले जानकारी दिए । यो अवस्था तत्कालै हटे पनि व्यवसाय लयमा फर्किन कम्तीमा पनि ६ महीना लाग्ने उनको भनाइ छ । विदेशबाट पर्यटक नआउँदा आन्तरिक उडानमा खास गरी हेलिकोप्टरहरूको बुकिङ ८० प्रतिशतसम्म रद्द भएको र अन्य विमान सेवाको व्यवसायमा करीब ४० प्रतिशतको कमी आएको संघको भनाइ छ । 

पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव बढ्दै गएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टिम बनाउन निर्देशन दिएका थिए । प्राधिकरणले आफ्नो प्रतिवेदन मन्त्रालयमा पेश गरिसकेको छ भने बोर्डले अध्ययन गरिरहको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार वायुसेवा सञ्चालक संघले राखेका रायसुझाव र मागका बारेमा सरकारलाई जानकारी गराइसकिएको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस