aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कम्पनीमा सनाखत प्रकरण : आदेश सच्याउन आलटाल

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, २७ फागुन २०७६
कम्पनीमा सनाखत प्रकरण : आदेश सच्याउन आलटाल

काठमाडौं । कम्पनीको सेयर खरिदबिक्रीमा सनाखतको आदेश प्रकरणमा उद्योग मन्त्रालयसँग संसदीय समिति रुष्ट बनेको छ। कम्पनी रजिस्ट्रार कार्यालयलाई दिइएको आदेश मन्त्रालयले नसच्याएपछि समितिले शुक्रबार विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले गल्ती सच्याउनुको साटो समितिलाई भ्रममा पार्ने काम गरेको राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी बताउँछन्। ‘मैले यो कुरा तत्कालीन मन्त्रीलाई पटक–पटक सम्झाएको थिएँ। उहाँले हुन्छ, हामी सच्याउँछौं भन्नुभएको थियो’, सभापति बिडारी भन्छन्, ‘तर, अहिले समितिलाई भ्रममा पार्ने र झुक्याउने काम भएको छ।’

समितिको निर्देशनअनुसार कामकारबाही अगाडि बढाउने गरी कम्पनी ऐन संशोधनको तयारी भइरहेको पत्र मन्त्रालयले गत माघ १७ गते पठाएको पाइएको छ। ‘कम्पनीको प्रशासनसम्बन्धी कार्य प्रभावकारी वा व्यवस्थित रूपमा सम्पादन गर्नको लागि रजिस्ट्रारले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ भन्ने कानुनी व्यवस्था भएबमोजिम कम्पनीहरूको सेयर कारोबारलाई पारदर्शी बनाउनका लागि सेयर किनबेच गर्दा बिक्रेता स्वयं कार्यालयमा उपस्थित भई बिक्री सनाखतपछि मात्र अभिलेख गर्ने गरी सूचना जारी भएको र सोहीअनुसार कामकारबाही भइरहेको छ’, पत्रमा लेखिएको छ, ‘यस सम्बन्धमा तहाँ समितिको पत्रबाट प्राप्त निर्देशनअनुसार कामकारबाही अगाडि बढाउने गरी कम्पनी ऐनको दोस्रो संशोधन विधेयकको मस्यौदा तयार भएको र तर्जुमा सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ।’ ऐन संशोधनसँगै उक्त विषय सम्बोधन हुने र यसअघिका निर्देशन स्वतः निस्क्रिय हुने पत्रमा उल्लेख छ।

संसद्को निर्देशन कार्यान्वयन नगर्ने भएकाले यो विशेष कुरा रहेको उनी बताउँछन्। ‘संसद्लाई भ्रममा पार्ने, झुटा प्रतिवेदन दिने, झुक्याउने काम गरेको हुनाले यसलाई कारबाही अघि बढाउने हो भने संसद्को विशेषाधिकार लागू हुन सक्ने अवस्था हो’, उनी भन्छन्। संविधानको धारा १०३ मा संघीय संसद्को विशेषाधिकारसम्बन्धी व्यवस्था छ।

तत्कालीन मन्त्री मातृकाप्रसाद यादवका निजी सचिव प्रेमप्रसाद आचार्यले ‘मन्त्रीज्यूको आदेशअनुसार’ भन्दै २०७५ असार २७ गते कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र पठाएका थिए। उक्त पत्रमा सेयर खरिदबिक्री गर्ने कम्पनीका प्रतिनिधि स्वयं कम्पनी रजिस्टार कार्यालयमा उपस्थित गराउनुपर्ने उल्लेख थियो। त्यसबमोजिम कम्पनी रजिस्ट्रार कार्यालयले २०७५ असार ३२ गते सूचना प्रकाशन गरी ‘सेयर खरिदबिक्री गरी सेयर लगत अभिलेखका लागि विवरण पेस गर्ने कम्पनीहरूले सम्बन्धित दूतावास, अदालत वा यस कार्यालयमा स्वयम् उपस्थित भई सनाखत गरी विवरण पेस गर्नू’ भनेको थियो।

प्रतिक्रिया दिनुहोस