aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

धितोपत्र विधेयकमाथि संसद्मा प्रारम्भिक छलफल

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, ३० फागुन २०७६
धितोपत्र विधेयकमाथि संसद्मा प्रारम्भिक छलफल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको बिहीवारको बैठकमा प्रस्तुत गरेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भनी राखेको प्रस्ताव संसद्ले सर्वसम्मतिले पारित गरेको छ ।

अर्थमन्त्री डा.खतिवडाले प्रस्ताव पेश गरेपछि प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले लगानीकर्ता अर्थमन्त्रीको छायाँसँग डराइरहेको बताएका थिए । ‘डा. खतिवडा अर्थमन्त्रीबाट हट्ने भएपछि शेयरबजार उकालो लागेको छ र उनको पुनरागमन भएपछि झरेको छ,’ सांसद केसीले भने । 

प्रतिउत्तरमा अर्थमन्त्रीले भने, ‘विधि, नीति र व्यावसायिक सम्भावनाको आधारबाट शेयरको मूल्य तथा कारोबार घटबढ हुने गर्छ । लगानीकर्ताले कम्पनीको वित्तीय तथा भावी अवस्था हेरेर शेयर खरीद गर्नुपर्‍यो ।’ 

डा. खतिवडाले भने, ‘धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानूनसम्मत बनाउँदै नियमनकारी निकायलाई बलियो बनाउन तथा स्वायत्त संस्थाका रूपमा विकास गर्नु आवश्यक छ ।’

सत्तारूढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेललाई नियामक निकाय बलियो बनाउँदा समाधान हुने बताइन् । बजार अर्थतन्त्रलाई स्वीकार गरेपछि अर्थतन्त्रका मुख्य तीन खम्बामध्ये सार्वजनिक, निजी र सहकारी क्षेत्र हुन्छ भन्दै उनले निजीक्षेत्रलाई बेवास्ता गर्न नमिल्ने तर्क गरिन् । पूँजी निर्माणको महत्त्वपूर्ण आधार शेयरबजार भएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन जोड दिइन् । साथै, उनले धितोपत्र बजारलाई अभैm विस्तार गर्न सुझाव दिइन् । ‘अरू प्रडक्ट थप्न बोर्डलाई अहिले भएको संरचनाभन्दा बलियो र पेशागत बनाउन जरुरी छ,’ उनले भनिन् । 

नेमकिपाका सांसद प्रेम सुवालले संविधानले समाजवादउन्मुख अर्थव्यवस्था भने पनि धितोपत्रसम्बन्धी ऐनले पूँजीबजार जस्तो अनुत्पादक क्षेत्रलाई प्रोत्साहन गरेकाले यो संविधान विरोधी भएको बताए । उद्योगको विकास नगरी पूँजीवाद नहुने बताउँदै उनले कारोबारको काम गरेपछि परिणाम निक्लने वैज्ञानिक सिद्धान्त पूँजी बजारमा लागू नभएको औंल्याए । उनले भने, ‘कोठामा बसेर धितोपत्र कारोबार गरेर उत्पादनमूलक हुँदैन । यस्तो पूँजीवादले अल्छी बनाउँछ ।’ त्यसैले सीमित पूँजीपतिलाई लक्षित गरेर विधेयक ल्याउन नहुने उनको भनाइ छ । अधिकांश शिक्षक, इन्जिनीयरलगायत कर्मचारी शेयरबजारमा लागेकाले देश चल्न नसक्ने टिप्पणी गर्दै सुवालले यो विधेयक फिर्ता लिन अर्थमन्त्रीलाई दबाब दिए । 

सांसदको जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले पूँजीबजार पूँजीपतिका लागि मात्र होइन भन्दै शेयर कारोबार गर्ने सर्वसाधारण १५–१६ लाख भएको बताए । उनले जोखिम लिन नचाहने तथा साना मझौला बचतकर्ताका लागि पूँजीबजार उपयुक्त माध्यम भएको बताए । 

उनले न्यून आयस्तर भएकाहरूलाई पनि शेयर किन्न सक्ने व्यवस्था विधेयकमा गरेको भन्दै लघुवित्त संस्थाबाट ऋण लिएर पनि शेयर किन्न सक्ने व्यवस्था रहेको बताए ।

यसैगरी, नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भनेर प्रयोग गरिएको शब्दप्रति आपत्ति जनाउँदै दलालको बदलामा धितोपत्र किनबेच गर्ने व्यवसायी भनेर उल्लेख गर्न सुझाव दिए । 

बोर्डका अध्यक्ष कतै पनि कार्यरत हुन नपाउने व्यवस्थाको प्रशंसा गर्दै उनले कार्यकारी निर्देशकलाई पनि यस्तो व्यवस्था गर्न जरुरी भएको औंल्याए ।
सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महतले बैंकहरूलाई ब्रोकर लाइसेन्स दिन माग गरे । उनले भने, ‘अभैm शेयर बजारमा सिन्डिकेट छ । झन्डै ५० ओटा ब्रोकर छन् । त्यसैले बैंक तथा वित्तीय संस्थालाई समेत ब्रोकरको अधिकार दिन जरुरी छ,’ उनले भने, ‘धेरैको पहुँच बढाउन बैंकलाई लाइसेन्स दिनुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस