aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सरकारी राहत पर्खंदै जलविद्युत् आयोजना

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, ०५ चैत्र २०७६
सरकारी राहत पर्खंदै जलविद्युत् आयोजना

काठमाडौं । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालका अधिकांश जलविद्युत आयोजना प्रभावित भएपछि जलविद्युत् प्रवद्र्धकहरू सरकारबाट राहतको प्रतिक्षा गर्न थालेका छन् । अधिकांश जलविद्युत् र प्रसारणलाइनमा चिनियाँ ठेकेदारहरूका साथै कामदार पनि चिनियाँ रहेको तथा उपकरण र सामानहरू पनि चीनबाटै ल्याउनुपर्ने कारणबाट प्रभावित उनीहरू राहतको प्रतिक्षामा गर्न थालेका हुन् ।

कोरोनाले जलविद्युत् आयोजनाहरू प्रभावित भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणमा विभिन्न राहतका लागि ध्यानाकर्षण गराएका उनीहरू सरकारले जलविद्युत् क्षेत्रलाई आपतकालीन क्षेत्रको रुपमा घोषणा गरी राहत घोषणा गर्नुपर्ने पक्षमा छन् । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई आफूहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकेको बताउँदै राहत घोषणाको प्रतिक्षामा रहेको बताउँछन् । “दुई हप्ता अघिनै सरकारलाई लिखित रुपमै ध्यानाकर्षण गराएका हौं, अहिलेसम्म त राज्यले केही गरेको छैन, छलफल पनि गरेको छैन, राज्य मरेकोजस्तै छ,” उनी भन्छन्, “कोरोनाबाट अधिकांश जलविद्युत् प्रभावित भएको र यसको निर्माणमा प्रत्यक्ष प्रभावित हुने देखिएकोले यसलाई फोर्स मेजरको रुपमा लिएर सबै आयोजनाहरूको लागि राज्यबाट राहतको घोषणा हुने आशा भने गरिरहेका छौं ।”

कोरोनाको कारणले सबैजसो जलविद्युत् आयोजना प्रभावित भएकोले उत्पादन गर्ने मिति ९आरसीओडी० को म्याद थप गर्नुपर्ने, ठेकेदार कम्पनीको समयावधि थप गर्नुपर्ने, बैकको ऋण तिर्ने अवधिमा संशोधन गर्नुपर्ने तथा निर्माणमा ढिलाई हुँदा आउने समस्या समाधानका लागि ठोस राहत कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । ऊर्जा मन्त्रालयले आरसीओडीको म्याद थप लगायतबारे प्रकृया अघि बढिसकेको भए पनि यसबारे ठोस निर्णय भने नभइसकेको बताउँछन् । “सरकारी र निजी दुवै जलविद्युत् आयोजनाहरू कोरोना भाइरसकको कारण प्रभावित भएका छन्, यसका लागि सरकारले उत्पादन मितिको समावधि थप लगायतका विषयमा छलफल गरिरहेको छ तर टुंगो लागेको छैन,” उनी भन्छन्, “सरकारले कोरोनाको कारण जलविद्युत् क्षेत्रमा असर परेको बुझेकोले यसका लागि गर्न सक्ने कामहरू गर्छ ।”

कोरोनाका कारणले जलविद्युत् आयोजनाहरूले नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग लगायतमा आवेदन दिनेक्रम भने बढेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निजीका साथै विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको निर्माणमा समेत प्रभावित भएको बताउँदै प्राधिकरणमा निवेदन आउनेक्रम बढेको बताउँछन् ।

चीनको नयाँ वर्ष अर्थात भव्य रुपमा मनाइने स्प्रिङ मनाउनका लागि गएका अधिकांश चिनियाँ ठेकेदारका प्रतिनिधिका साथै कामदारहरू कोरोना भाइरसको महामारीको कारण अझै नेपाल फर्कन सकेका छैनन् भने जलविद्युुत र प्रसारण लाइनका आयोजनाहरूको लागि चाहिने पेनस्टक पाइप, स्पेयर्स लगायतका उपकरणहरू समेत रोकिएका छन् । अधिकांश आयोजनाहरूमा विद्युुत उत्पादनको लागि चाहिने पावर ट्रान्सफर्मर, स्टेशन ट्रान्सफर्मर, स्वीच गेयर, इन्सुलेटर हार्डवेयर लगायतका उपकरणहरूका साथै वितरणका लागि आवश्यक ट्रान्सफर्मर खरिद र अन्य उपकरण आयातमा पनि समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस