aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोना त्रास स्वास्थ्यकर्मी विरामी दुबै असुरक्षित, विरामी भर्ना गर्न शक्तिकेन्द्रको भनसुन

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, ०८ चैत्र २०७६
कोरोना त्रास स्वास्थ्यकर्मी विरामी दुबै असुरक्षित, विरामी भर्ना गर्न शक्तिकेन्द्रको भनसुन

काठमाडौं । प्रदेश–५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो।

ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन। तर तिनै अस्पताल कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको उपचार गर्न आनाकानी गरिरहेका छन्। ज्वरो र रुघाखोकी देखिएका बिरामीलाई अस्पतालले गेटबाटै फर्काएका छन्।

रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना गर्न नमानेपछि नवलपरासीको रामग्राम १६ हकुईका एक युवा ९ दिनपछि मुख्यमन्त्रीको निर्देशनमा लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको छ।

चैत २ गतेदेखि नवलपरासी, रुपन्देही र काठमाडौंका निजी तथा सरकारी अस्पताल चहार्दा पनि कसैले भर्ना लिन नमानेपछि बिरामीका छिमेकीले नवलपरासीका केही मिडियाकर्मीलाई सूचना पु¥याएका थिए। यो सूचना बाहिरिएपछि जताततै आलोचना भयो। मुख्यमन्त्री शंकर पोखरेलले यो सूचना थाहा पाएर उपचारका लागि दबाब दिएपछि बल्ल प्रादेशिक अस्पतालले ती युवालाई भर्ना लिएर उपचार थालेको छ। उनलाइ आइसोलेसनमा राखिएको छ।

पेसाले ट्रकचालक ३५ वर्षे ती युवा चैत लागेसँगै बिरामी परेका थिए। खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या भएपछि उनी चैत २ गते स्थानीय एक क्लिनिकमा जँचाउन गएका थिए। स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको भन्दै आइसोलेसन बेडको व्यवस्था गरिएको सरकारी अस्पतालमा जान सुझाव दिए।

चैत ३ गते पृथ्वीचन्द्र अस्पताल परासीमा पुगेका उनलाई एक्सरे गरेर हेर्दा छातीमा निमोनियाको दाग देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरियो।

चैत ४ गते साँझ लुम्बिनी अस्पताल पुगेका बिरामीलाई बिनापरीक्षण कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाइयो। मेडिकल कलेजले रगत र पिसाब परिक्षण गरी कोरोनाकै लक्षण भन्दै चैत ५ गते काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु पठायो।

तर परिवारले सरकारी अस्पतालले फर्काइदिने आशंका गर्दै कलंकीको नेसनल अस्पतालमा लगेको र त्यहाँबाट पनि टेकुमै लैजान सुझाव दिए पनि फेरि अर्को निजी अस्पताल पु¥याएका थिए। त्यहाँ पनि कोरोनाकै लक्षण भन्दै सरकारी असपतालमा लैजान स्वास्थ्यकर्मीले सुझाएपछि आफन्तले ती युवालाई फर्काएर ५ गते राति बुटवल ल्याए।

लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन बेड त्यस दिन खाली थिएन। त्यसैलाइ कारण देखाएर अस्पतालले फर्काइदियो। चैत ६ गते उनीहरु रुपन्देहीकै क्रिमसन अस्पताल र देवदह मेडिकल कलेज गए, ती अस्पतालले पनि भर्ना लिएनन्।

आफन्तले बिरामीलाई फर्काएर पृथ्वीचन्द्र अस्पताल परासी पु¥याए। त्यहाँका स्वास्थ्यकर्मीले त्यस दिन त बिरामीलाइ एम्बुलेन्सबाट झर्नै नदिएको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा भेटिएका बिरामीका आफन्तले बताए। त्यसपछि बिरामीका आफन्त र छिमेकीले स्थानीय केही सञ्चारकर्मीसमक्ष खबर पु¥याए।

मिडियाकर्मीमार्फत जनप्रतिनिधिसम्म कुरा पुगेपछि खबर मुख्यमन्त्रीकहाँ पनि पुग्यो। ६ दिनसम्म विभिन्न अस्पताल चहारेका बिरामीका बारेमा खबर पुगेपछि मुख्यमन्त्रीकै निर्देशनमा बिहीबार साँझ बल्ल लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भयो।

‘मन्त्रीले हाम्रा दुःख थाहा पाएपछि बल्ल अस्पतालले भर्ना लिएको हो। त्यही भएर होला, डाक्टर र नर्सले पनि अहिले त राम्रै व्यवहार गरिरहेका छन्’, शुक्रबार अस्पताल परिसरमा भेटिएका बिरामीका एक आफन्तले भने। अस्पतालका फोकल पर्सन डा.सुदर्शन बरालले चैत ४ गते आइसोलेसन बेड खाली नभएकाले भर्ना नलिएको दाबी गरे।

‘बिहीबार बेड खाली थियो, हामीले भर्ना पनि लियौं र कोरोना संक्रमण भएनभएको पत्ता लगाउन स्वाब टेस्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका छौं’, थापाले भने।


 

प्रतिक्रिया दिनुहोस