aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुकमा पत्राचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुकमा पत्राचार

काठमाडौँ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सामग्री खरिदका लागि पाँच मुलुकलाई पत्राचार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गरिएको जानकारी सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दिए ।

उनले रक्षा मन्त्रालयको स्वीकृति पाएसँगै स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएकोमा परराष्ट्रले ती देशलाई स्वास्थ्य सामग्रीको सूचीसहित पत्राचार गरेको छ भने ।
उनले ती मुलुकबाट आउने जवाफका आधारमा खरिद प्रक्रिया अगाडि बढाइने जानकारी दिए। उनले कोरोना क्राइसिस म्यानेजमेन्ट टिम ९सीसीएमसी० द्वारा तयार पारिएको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पत्राचार गरिएको स्पष्ट पारे । 

उनले जीटूजी प्रक्रियाबाट खरिद गरिने स्वास्थ्य सामग्री पत्राचार गरिएकामध्ये एउटा मुुलुकबाट मात्र खरिद गर्ने सोच रहे पनि आवश्यक सामान एउटै मुलुकसँग उपलब्ध हुन नसकेको अवस्थामा तीन वा चार मुलुकबाट पनि सामान खरिद गर्न सकिनेछ भने । भारतले यसअघि नै स्वास्थ्य सामग्री निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, नेपाली सेना मार्फत सरकारदेखि सरकार ९जीटूजी० विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।  गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस