aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लकडाउनमा कुन नेताको कस्तो सक्रियता देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
लकडाउनमा कुन नेताको कस्तो सक्रियता देखियो

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का कारण देश बन्दाबन्दी (लकडाउन) मा छ । लकडाउनमा राजनीतिक दलका नेताले विविध तवरले क्रियाशील देखाइरहेका छन् । राजनीतिक दलका नेताका अनुसार आफ्नो क्षेत्रमा गरिब, मजदुर तथा अप्ठ्यारोमा परेकालाई राहत वितरण गर्नुका साथै समस्यामा परेकालाई उद्धार गर्ने र जनतामा चेतना फैलाउने काम पनि गरिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख वामदेव गौतमले लकडाउनमा आफ्नो सुविधा अनुसार जनतालाई सहयोग गरिरहेको बताए । उनले पार्टीबाट नेता तथा कार्यकर्तालाई अप्ठेरोमा परेकालाई सहयोग गर्न निर्देशन रहेको बताए । नेता गौतमले पार्टीले सरकारलाई सहयोग गरिरहेको बताए ।


‘पार्टीका नेता तथा कार्यकर्ता दिनरात नभनी सहयोगमा जुटिरहेका छन्’ उनले स्पष्ट पारे । नेकपाका स्थायी समिति सदस्य एवं सङ्गठन विभागका उपप्रमुख जनार्दन शर्माले रुकुम पुगेर श्रम अभियान चलाइरहेको बताए । उनले सोही अभियानबाट रुकुमको चौरजहारीमा १० कोठाको आइसोलेसन भवन निर्माण गरेका छन् । उनले जनतालाई अहिले सहयोग गर्न आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका नेता डा। प्रकाशसरण महतले लकडाउनका कारण समस्यामा परेकालाई उद्धार तथा सहयोग गर्न पार्टीले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताए । उनले सामाजिक दूरी कायम गर्दै र स्वास्थ्य मापदण्डभित्र रहेर राहत तथा उद्धारको काममा पार्टीका नेता तथा कार्यकर्ता क्रियाशिल रहेको बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आफूले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई राहत वितरण गर्न होइन, राहत वितरण गर्नेमाथि निगरानी बढाउन निर्देशन दिएको बताए । ‘राहत वितरण गर्ने काम सरकारी स्तरबाट वडा तहबाट हुनुपर्ने हो, एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्छ, बाहिरबाट निगरानी गर्नुपर्छ ।’ उनले भने ।

समाजवादी पार्टीका महासचिव रामसहाय यादवले लकडाउनबाट पीडित भएका जनतालाई सहयोग तथा उद्धार गर्ने काम सरकारले गर्नुपर्ने स्पष्ट गर्दै त्यसमा पार्टीका नेता तथा कार्यकर्ताले समन्वयको भूमिका खेल्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टीका तीनैजना अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले आइतबार विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् । आजको गोरखापत्र दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस