aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ ।

‘जीटुजी’ प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न करिब सवा दुई अर्ब रुपियाँ (एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर)को सम्झौता गरिएको हो । चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । सम्झौताअनुसार चीनबाट ३४२ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । आइतबारै सो सम्झौता सम्पन्न भए पनि मङ्गलबार नेपाली सेनाले सो जानकारी दिएको हो ।

नेपालले सम्झौता अनुसारको रकम राष्ट्र बैङ्कको स्वीकृति लिएर भुक्तानी गरिसकेको छ । सम्झौतामा नेपालका तर्फबाट नेपाली सेनाका सम्भार रथी प्रभुराम शर्मा र चीनका तर्फबाट वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । चीनसँग कोरोना उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिद गर्ने सूचीमा नेपाल ८१औँ मुुलुक हो ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि, उपकरण लगायतका स्वास्थ्य सामग्री खरिदबारे जानकारी दिन नेपाली सेनाद्वारा मङ्गलबार आयोजित भिडियो संवादमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग गरिएको उक्त सम्झौताबारे जानकारी दिए। चीनसँग ६७ प्रकारका स्वास्थ्य सामग्रीका लागि यो सम्झौता भएको हो ।

नेपाल आउने सामग्रीको गुणस्तर मापदण्ड पूरा गरिएको बताउँदै प्रवक्ता पाण्डेले सम्झौताअनुसार आयात गरिएको सामान गुणस्तरहीन पाएको अवस्थामा पाँच दिनभित्र फिर्ता गर्न सक्ने अधिकार पनि सेनासँग सुरक्षित रहेको स्पष्ट पारे । मन्त्रिपरिषद्को चैत १६ को निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी निर्णय कार्यान्वयन गर्न रक्षा मन्त्रालयबाट चैत १९ गते प्राप्त पत्रअनुसार सार्वजनिक खरिद ऐन र नियमावली पालना गर्दै चीनसँग सो सम्झौता गरिएको उनले बताए । 

हवाई र स्थल मार्गबाट सामग्री आउने
उहाँका अनुसार ३४२ टन सामग्री ल्याउन एकै पटक ढुवानी गर्न सम्भव नहुने भएकाले विभिन्न चरणमा ढुवानी गरिनेछ । पहिलो चरणमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क, पीसीआर परीक्षण किट लगायतका अति आवश्यकीय सामग्री हवाई मार्गमार्फत अबको एक हप्ताभित्र नेपाल आइपुग्नेछ । अन्य सामग्री स्थल मार्गबाट ल्याइनेछ ।

चीनले सम्पूर्ण स्वास्थ्य सामग्री गोन्जाउमा उपलब्ध गराउनेछ । त्यह९ाँबाट स्थल मार्ग भएर तातोपानीसम्म सामग्री ल्याउन कम्तीमा एक हप्ता लाग्नेछ । हवाई मार्गबाट ढुवानीका लागि नेपाल वायुसेवा निगम र श्री एयरलाइन्ससँग उडान मूल्यसूची (फ्लाइट चार्टर रेट) माग गरिएको छ । उनले भने, “वाइड बडी जहाजमा १८ देखि २० टनसम्म मात्र ल्याउन सकिने रहेछ, त्यसैले प्राथमिकता तय गरेर अहिलेलाई कम्तीमा दुई खेप हवाई मार्गबाट सामान ल्याउनेछौँ, त्यसपछि स्थल मार्गबाट पनि सामान ल्याइनेछ ।”

“अहिले मुलुकमा कोरोना सङ्क्रमणको भयावह स्थिति उत्पन्न भइनसकेकाले स्थल मार्गबाट पनि सामग्री ल्याउनेछौँ”, प्रवक्ता पाण्डेले भने, “अहिले अत्यावश्यकचाहिँ हवाई मार्गबाटै ल्याउनेछौँ ।” परिस्थिति जटिल बन्दै गएको अवस्थामा हवाई मार्गबाट सबैै सामग्री ल्याउन सकिने विषयमा समेत छलफल भइरहेको जानकारी उनले जानकारी दिए । 

भारतसँग छलफल जारी
कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग औषधि खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी प्रवक्ता पाण्डेले दिए । उनका अनुसार औषधि खरिदका लागि भुक्तानी दिन जङ्गी अड्डाको खरिद एकाइले भारतलाई ‘मोड अफ पेमेन्ट’का लागि पत्र पठाए पनि भारतबाट अहिलेसम्म मूल्यसूची प्रस्तावलगायत कुनै प्रतिक्रिया आउन सकेको छैन ।

भारतसँग ५३ प्रकारका औषधि खरिद गर्न लागिएको हो । भारतसँग खरिद गर्न लागिएको औषधि कोरोना उपचारका लागि चाहिएको हुनाले स्वास्थ्य सामग्री खरिदलाई पहिलो प्राथमिकतामा राखिएको प्रवक्ता पाण्डेले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस