aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

साउदीमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १२ बैशाख २०७७
साउदीमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह

काठमाडौं । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो । श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन नै नउठ्ने गरेको गुनासो गदै आएका छन् । ४ वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने विमल पराजुलीले १ महिनादेखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गरे ।

गएको १ वर्षदेखि साउदीमा अवैध भएर हार्डवेयर पसलमा काम गरिरहेका उनलाई साहुले कामबाट निकालेसँगै बेखर्ची भएर केही दिनदेखि नेपाली साथीको डेरामा आश्रय लिइरहेको दुःखेसो सुनाए । उनले भने, ‘दूतावासमा धेरैपटक फोन गरे तर रिसिभ नै भएन, खान बस्नै समस्या भएर अहिले साथीकोमा आश्रय लिइरहेको छु, उहाँको पनि कमाइ छैन, बाँच्नै समस्या भएको छ ।’


पराजुलीले साउदीमा आफूजस्तै थुप्रै नेपाली श्रमिक काम नभएर समस्यामा भएको गुनासो गरे । यता साउदीको दूतावासले भने साउदीमा समस्यामा परेका नेपालीलाई स्रोतसाधनले भ्याएसम्म सहयोग गरिरहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस