aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पहिलोपटक यार्सागुम्बा टिप्न प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
पहिलोपटक यार्सागुम्बा टिप्न प्रतिबन्ध

मनाङ । हिमाल पारीको जिल्ला मनाङमा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ। नेपालमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको र संक्रमित संख्या बढ्दै गएकाले मनाङ प्रशासनले जिल्लामा यार्सागुम्बा टिप्न पहिलो पटक प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठकले यस वर्ष यार्सा टिप्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए।

उनका अनुसार मनाङका सांसद, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुखलगायत सरोकारवाला निकायका प्रमुखको संयुक्त बैठकबाट त्यस्तो निर्णय गरिएको हो।

उनले भने, ‘अतिबहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मौसम सुरु भएको हुँदा यो वर्ष अर्को निर्णय नहुृदासम्म यस कार्यलाई पूर्ण रूपमा बन्देज गर्ने निर्णय गरिएको छ।’ यार्सागुम्बा टिप्न खुला गर्दा जिल्ला बाहिरका समेत धेरै संख्यामा मानिस आउने भएकोले कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले संकलन कार्य रोकिएको प्रजिअ पौडेलले बताए।

मनाङमा बाहिरी जिल्लाबाट यार्सागुम्बा संकलन गर्न आउने र यार्सागुम्बा टिप्ने कार्य खुला गरे लकडाउनको समयमा पनि मानिस लुकेर आउने भएकाले कोरोना भाइरस संक्रमण रोक्न यार्सागुम्बा टिप्ने कार्यमा प्रतिबन्ध लगाइएको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले बर्षेनी हजारौँको संख्यामा बताए।

सांसद गुरुङका अनुसार मनाङमा पहिलोपटक यार्सागुम्बा संकलन कार्यमा प्रतिबन्ध लगाइएको हो। आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस