काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ ।
आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर लैजाने विषयमा कुनै छलफल नै नगरिएको सरकारी अधिकारीहरूले स्पष्ट गरेका छन् । नेपालमा साउनबाट नयाँ आर्थिक वर्ष र वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ ।
तत्काल परिवर्तन हुँदैनः महानिर्देशक
शैक्षिक सत्र परिवर्तनले शिक्षाका साथै मुलुकको धेरै क्षेत्रमा दूरगामी असर तथा दीर्घकालीन प्रभाव पार्ने भएकाले कोरोना सङ्क्रमणको मात्रै कारण देखाएर शैक्षिक सत्र नसार्ने टुङ्गोमा शिक्षाका अधिकारीहरू पुगेका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा। तुलसी थपलिया यस वर्ष असामान्य परिस्थितिका कारण वैशाखबाट विद्यार्थीको पठनपाठन प्रारम्भ गर्न नसकिए पनि तत्काल शैक्षिक सत्रमा फेरबदल नगरिने बताए ।
सरकारले विगत केही वर्षदेखि वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । यसले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन सकारात्मक पहल गरेको जनाइएको छ लाखौँ विद्यार्थी तथा अभिभावकको सरोकारको विषय भएको र धेरै दूरगामी प्रभाव पार्ने विषय भएकाले यसमा धेरै पक्षसित छलफल गर्नुपर्ने महानिर्देशक थपलियाको भनाइ छ ।
भर्ना अभियान प्रभावित
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान बर्खा सिजन र ७० लाख विद्यार्थीको नयाँ सिजन एकैसाथ पार्न सान्दर्भिक नहुने तर्क गर्नुहुन्छ । नयाँ शैक्षिक सत्र र नयाँ वर्षको सुरुआतसँगै भर्ना अभियान पनि चलाउँदा यसले शिक्षामा राम्रो प्रभाव पारेको उल्लेख गर्दै महासचिव मोक्तान त्यसकारण कुनै एक वर्षको अनुभवकै आधारमा शैक्षिक सत्र सार्न नहुने बताएका छन् । साउन भदौमा बालबालिका विद्यालय आउने क्रम कम हुने तथा कतिपय विद्यालय बन्दसमेत हुने भएकाले पनि शैक्षिक सत्र सार्दा शिक्षामा धेरै दूरगामी असर पार्ने उनको भनाइ छ ।
यस वर्ष साउनबाट कक्षा सुरु गर्नुपर्ने अवस्था सिर्जना भए पनि बिदा कटौती गर्ने, विद्यालय खुल्ने समय बढाउने, अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सूचना प्रविधिको क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताए ।
वैशाख नै उपयुुक्त
निजी तथा विद्यालय आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०का अध्यक्ष टीका पुरी शैक्षिक सत्रको सुरुआत वैशाख नै उपयुक्त भएको बत९ाउनुहुन्छ । वर्षाको सिजनमा विद्यार्थीलाई विद्यालयसम्म आउन, किताब कापीको प्रबन्ध मिलाउन, अभिभावकलाई पनि विद्यालयसम्म आउन कठिनाइ हुने भएकाले वैशाखको नयाँ शैक्षिक सत्र सार्नु व्यावहारिक नहुने प्याब्सनले जनाएको छ ।
साउनमा नयाँ शैक्षिक सत्र पु¥याउँदा धेरै ग्रामीण जनतालाई असर पर्ने भएकाले यस खालको दूरगामी विषयमा निर्णय लिँदा धेरै विचार पु¥याउनुपर्ने अध्यक्ष पुरीको सुझाव छ । यस वर्षको सङ्क्रमणलाई मात्रै आधार मानेर हतारमा शैक्षिक सत्र परिवर्तन गर्न नहुने उनको भनाइ छ ।
विद्यार्थीको सुविधामै निर्णय
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्वअध्यक्षसमेत रहनुभएका शिक्षाविद् डा। बाबुराम अधिकारी विद्यार्थीको सुविधालाई दृष्टिगत गरी शैक्षिक सत्रका बारेमा अन्तिम निर्णय गर्नुपर्ने बताएका छन् । विगतमा पनि मङ्सिर, माघ तथा फागुनमा शैक्षिक सत्र प्रारम्भ गरिएकाले उपयुक्त देखिए शैक्षिक सत्र सार्न सकिने तर त्यो विद्यार्थीको हितमा हुने गरी निर्णय गर्नुपर्ने उनले बताएका छन् । आजको गोरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस