aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राहत पाउने आशमा छुट्टिन थाले परिवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
राहत पाउने आशमा छुट्टिन थाले परिवार

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले पाँचवटै वडामा राहतका लागि लगत संकलन गर्दा एक हजार एक सय ३० दलित परिवार भेटिए। तर, राहत वितरण गर्दा ५० घर परिवार बढे। राहत पाउन एकाएक दलित परिवार छुट्टिन थालेका छन्।

पहिलाको लगतअनुसार राहत लगिएको तर वितरण गर्दा परिवार संख्या बढेपछि समस्या देखिएको गाउँपालिकाले जनाएको छ। लगतमा समावेश भएका सबै दलित परिवारलाई राहत उपलब्ध गराउन अन्य निकायलाई समेत अनुरोध गरिएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। तर, राहत पाउन परिवार संख्या फुटेपछि समस्या भएको उनको भनाइ छ।

राहत पाउने भएपछि दलित समुदायका घरधुरी संख्या ह्वातै बढेको गन्यापधुरा गाउँपालिका-१ का वडासचिव अंकिलाल भट्टले जानकारी दिए। उनले भने, ‘गाउँपालिकाले लगाएको कर र सामाजिक तिरो तिर्दा एकै परिवार भएको बताउनेहहरू राहत पाउन अलग भएका छन्।’ सो गाउँपालिकाले यसअघि मजदुर र विपन्न समुदायलाई पहिलो चरणमा रात वितरण गरेको छ।

राहतका लागि नै परिवारबाट अलग भएको बाहाना नगरी यस्तो बेलामा सबैले सहयोग गर्नुपर्ने अजयमेरु-१ र २ का वडाध्यक्ष दत्तिसिंह भण्डारी र शिवराज भट्टले बताए। कोरोना महामारीको त्रासपछि लकडाउन अवधि लम्बिँदै जाँदा ज्याला-मजदुरी गरेर जीवनयापन गरिरहेका विपन्न समुदायका नागरिकले निकै सास्ती खेपिरहेका छन्। सात वटा स्थानीय तह रहेको डडेल्धुरामा राहत बाँड्ने मापदण्ड फरक छ। स्थानीय निकायले सबैलाई न्याय हुनेगरी राहत वितरण गरिरहेको बताए पनि मजदुर, विपन्न परिवारले राहत नपाएको गुनासो गरिरहेका छन्।

यसैबीच, अमरगढी नगरपालिका कांग्रेस नगर सभापति दानबहादुर पालले नगरका अपांगता भएकाहरूलाई व्यक्तिगत खर्चमा राहत वितरण गरेका छन्। प्रतिव्यक्ति ३० किलो चमल र केही नगदसमेत वितरण गरिएको पालले बताए। आजको अन्नपुर्ण दैनिकबाट 

प्रतिक्रिया दिनुहोस