धनगढी । नेपाल र भारतका विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमवासी विभिन्न तरिकाले घर फर्किन थालेका छन् । भारतबाट आउनेहरू महाकाली नदीमा जोखिम मालेर पौडी खेलेर आइरहेका छन् । कञ्चनपुर, बैतडी र दार्चुलासँग जोडिएका भारतीय सीमामा झण्डै दुई हजार नेपाली रहेको बताइन्छ भने काठमाडौँ लगायतका सहरबाट आउनेक्रम पनि तीव्र रहेको छ ।
१६ जना नेपाली महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका छन् । बुधबार बिहान महाकाली तरेर दार्चुला जिल्ला भएर नेपाल प्रवेश गर्ने १६ जनामध्ये बैतडीको डिलासैनी गाउँपालिका १४ जना, पुरचौडी नगरपालिकाका एक र अर्का एक जना दार्चुलाका रहेका छन् । एक महिनादेखि सीमानाका भारतीय क्वारेन्टाइनमा रहेमध्येका १६ जना महाकाली नदीमा पौडी खेलेर तथा केही ट्युबबाट तरेर आएको बताइएको छ ।
काठमाडौँ सहितका सहरबाट आठ हजार आए
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला घर भएर कामका सिलसिलामा काठमाडौँ सहितका सहरमा गएका आठ हजार दुई सय जना घर फर्किएका छन् ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटीले काम तथा अध्ययनका लागि अन्यत्र गएकाहरू धमाधम फर्किएका हुन् । यसैबीच कैलालीका विभिन्न स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन खाली हुन थालेका छन् । भारत लगायत नेपालका विभिन्न ठाउँमा काम गर्न गएकालाई फर्किआउँदा क्वारेन्टाइनमा राखिने गरिएकोमा जोखिम नभएका ठाउँबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नपर्ने भएपछि क्वारेन्टाइन खाली हुनथालेका हुन् ।
जोशीपुर, जानकी गाउँपालिका, घोडाघोडी नगरपालिकाका क्वारेन्टाइन खाली भएका छन् । लम्कीचुहा, भजनी, गौरीगङ्गा, बर्दगोरिया, मोहन्याल लगायतका नगरपालिका र गाउँपालिकामा समेत नयाँ आउनेलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ ।
अलपत्र परेका १४ जनाको उद्धार
बाजुराको गौमुल गाउँपालिकाको पहलमा कञ्चनपुर जिल्लासँग जोडिएको भारतको सीमामा अलपत्र परेका १४ जना नेपालीको उद्धार भएको छ ।
कामको सिलसिलामा भारत गएका गौमुल गाउँपालिकाका १४ जनालाई गाउँपालिकाको पहलमा उद्धार गरिएको अध्यक्ष हरि रोकायाले बताए । यस्तै गरेर बाजुराको त्रिवेणी नगरपालिकाले काठमाडौँ र धनगढीमा अध्ययन गर्दै आएका ११ जना घर ल्याउन सहयोग गरेको छ । नेपालका विभिन्न स्थानमा रहेकालाई घर ल्याउन सहयोग गर्न अरू स्थानीय तहलाई दबाब परिरहेको छ ।
बाहिरबाट आएका क्वारेन्टाइनमा बसेनन्
चार दिनयता लगातार रूपमा धनगढी, काठमाडौँबाट आएकाहरू क्वारेन्टाइनमा नबसेर सीधै घर गएको भेटिएको छ । शनिबारयता एक हजारभन्दा बढी स्थानीय बझाङ आएको अनुमान छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले हामीले बाहिरबाट आएकालाई अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई आग्रह गरेको बताए । दार्चुलामा पनि धनगढीसहित विभिन्न सहरबाट धमाधम आइरहेकाहरू क्वारेन्टाइनमा बस्न नमानेर घरमै बसिरहेका छन् ।
डोटीमा भने जिल्ला बाहिरबाट आएकालाई २१ दिनसम्म क्वारेन्टाइनमा अनिवार्य बसाइने भएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार सोमबार मात्रै लकडाउनका कारण काठमाडौँबाट फर्किएका ७३ जनालाई विभिन्न स्थानीय तहले २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् ।
लकडाउनका कारण काठमाडौँमै अलपत्र परेकाहरूलाई स्थानीय तहले पहल गरेर घर फर्काएका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको सवारी पास लिएर दुई बस डोटी पुगेका छन् ।
काठमाडौँबाट डोटी पुगेकाहरूमा पूर्वीचौकी गाउँपालिकाका ३४ जना, बोगटान फुड्सिल गाउँपालिकाका १९ जना, केआईसिंह गाउँपालिकाका ९ जना, आदर्श गाउँपालिकाका ७ जना, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २÷२ जना रहेका छन् ।
मुक्त कमैयालाई राहत
कैलालीको विभिन्न बस्तीका २३० मुक्तकमैया परिवारलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण समस्यामा परेका मुक्तकमैया परिवारलाई प्रति परिवार ३० किलोग्राम चामलसहित दाल, तेल र नुन वितरण गरिएको हो । कैलारी गाउँपालिका वडा नम्बर ५ स्थित सपना मुक्तकमैया शिविरका ४३, बन्दरगौडी कुमाल टोलका ३५ परिवारलाई राहत दिइएको छ ।
यसैगरी, वडा नम्बर ६ स्थित हिरापुर मुक्तकमैया बस्तीका २०, वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरका ७० र मिलनपर मुक्तकमैया शिविरका ६२ परिवारलाई राहत वितरण गरिएको कैलारी गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।
शिविरमा रहेका ३५ जना सुत्केरी र गर्भवती महिलालाई चना, भटमास, मकै र अण्डा पनि दिइएको छ । मुक्त कमैया महिला विकास मञ्चको सहयोगमा मुक्तकमैया परिवारलाई राहत वितरण गरिएको हो । आजको गोरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस