aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपालगञ्जमा एकै व्यक्तिबाट १५ जनामा फैलियो कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
नेपालगञ्जमा एकै व्यक्तिबाट १५ जनामा फैलियो कोरोना संक्रमण

बाँके। दुई दिनअघि नेपालगञ्ज उपमहानगरपालिका–५ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटियो । ती व्यक्तिबाट सुरु भएको सङ्क्रमण अन्यमा फैलिएको हो । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर जाँचमा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ सङ्क्रमित सबै पहिलो सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति हुन्, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ शाहले भन्नुभयो । नेपालगञ्जको डीएसपी रोडस्थित एक टोलमा बस्ने पहिलो सङ्क्रमित नजिकैको एक मस्जिदमा कार्यरत हुन् । उनले मस्जिद नजिकै मदरसामा विद्यार्थीलाई ट्युसनसमेत पढाउँदै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका वडा नम्बर ५ र ८ का ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिँदा १५ जनामा कोरोना भएको पुष्टि भएको हो । भेरी अस्पतालका चिकित्सक डा। बद्री चापागाईंका अनुसार शनिबार सङ्कलन गरिएकामध्ये थप व्यक्तिको स्वाबको परीक्षण कार्य चलिरहेको छ ।

सङ्क्रमित भएका व्यक्तिलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । प्रहरीले पहिलो सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत चैत पहिलो साता सीमापारि भारतको रुपैडिया–नानपारा पुगेर फर्किएको पाइएको छ । प्रहरी स्रोतले भन्यो– आफ्ना बिरामी बुबालाई भेट्न पुगेका सङ्क्रमित बन्दाबन्दीको दुई दिनअघि मात्रै फर्किएको पाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले थप व्यक्तिमा सङ्क्रमण देखिएपछि सुरक्षा सावधानी अपनाइएको जानकारी दिए। एकै दिन यति जनामा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको कार्य थप अघि बढाइने उनले बताए । आजको गोराखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस