नेपालगन्ज । नेपालगन्ज–५ का एक वृद्धमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । उनीसँग सम्पर्क भएकाहरूको परीक्षण गर्दा आइतबार नेपालगन्ज–८ मा १४ जना र नेपालगन्ज–५, डीएसपी रोडका एक जना गरी १५ जनामा संक्रमण देखिएको थियो । शनिबार स्थानीय ९० जनाको स्वाब संकलन गरिएकामा केही नमुनाको परीक्षण सोमबार साँझसम्म भेरी अस्पतालको प्रयोगशालामा भइरहेको छ ।
लक्षणबिनै समुदायमा संक्रमण फैलिएपछि सम्भावित संक्रमित पत्ता लगाउन र संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ । संक्रमित व्यक्तिले आउजाउ गरेका क्षेत्र र उनीहरूको सम्पर्कमा आएका व्यक्तिबारे सही विवरण नखुल्दा संक्रमण कहाँ सुरु भएर कहाँ पुग्यो भन्ने यकिन गर्न चिकित्सकलाई समस्या भएको छ ।
‘कोभिड–१९ नियन्त्रणका लागि संक्रमित व्यक्तिले कहिले कहाँ–कहाँ आउजाउ गरेका थिए, त्यसको सही विवरण चाहिन्छ,’ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेले भने, ‘संक्रमितले भेटेका व्यक्तिबारे सही सूचना दिनुपर्छ नत्र संक्रमण समाजमा झन् भयावह रूपमा फैलिन सक्छ ।’
डा। पाण्डेले संक्रमित व्यक्ति एउटै क्षेत्रका भएकाले उनीहरुले आउजाउ गरेको विवरण उपलब्ध गराए नियन्त्रण सम्भव हुने बताए । संक्रमण एक व्यक्तिबाट समुदायमा सर्न थालेपछि नियन्त्रण बाहिर पनि जान सक्ने उनको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले नेपालगन्जमा देखिएको संक्रमणलाई अध्ययन गरी कदम चाल्न आवश्यक छ,’ उनले भने ।
गत शुक्रबार संक्रमित एक जनाको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा ९० जनाको स्वाब संकलन गर्नुपरेको थियो । ‘अहिले १५ जनाको सम्पर्कमा आएका व्यक्तिहरूको कन्टयाक्ट ट्रेसिङ गरिरहेका छौं,’ जनस्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘३ सय जनाको ट्रेसिङ गर्नुपर्ने अड्कल गरेका थियौं । यो संख्या अझै बढ्न सक्छ ।’
श्रेष्ठका अनुसार संक्रमित १४ जनाको बसोबास रहेको नेपालगन्ज–८ को जनसंख्या ४ हजार १ सय छ । आइतबार पत्ता लागेका अर्का एक जना संक्रमितको घर भएको वडा नं ५ मा जनसंख्या ४ हजार ८ सय ६ सय रहेको छ ।
खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा रहेका १६ संक्रमितसँग कहिले कहाँ आउजाउ गरेको र कोसँग सम्पर्कमा रहेको भन्ने विषयमा जानकारी लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरू तीन सय जनाभन्दा बढीको सम्पर्कमा आएको खुलेको छ ।
ट्रेसिङ सकिएपछि संक्रमितसित सुरुमा भेट भएका व्यक्तिको स्वाब संकलन गरिनेछ । शुक्रबार पुष्टि भएका संक्रमित वृद्ध एक महिनासम्म नेपालगन्ज–८, जोलहनपुरा टोलमा घुलमिल भएकाले सबै स्थानीयको स्वाब संकलन गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मीले बताए । संक्रमण पुष्टि भएका नेपालगन्ज–८, महेन्द्र पार्कका तीन जना एकै परिवारका हुन् । नेपालगन्ज–८ का बासिन्दा तथा पूर्वउपमेयर समसुद्दिन सिद्दिकीले परीक्षणको दायरा बढाउनुपर्ने बताए । आजको कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस