काठमाडौं । कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई सुझाव दिएको हो ।
त्यसका लागि घुम्न निस्कनेको आत्मविश्वास जगाउन पनि घुमघाममा वार्षिक ५० हजार खर्च गर्नेलाई बिल बुझाएको आधारमा आयकर छुट दिनुपर्ने सुझाव बोर्डले दिएको छ । यसो हुँदा सरकारले सामान्य आम्दानी गुमाउँदा पनि अर्थतन्त्रमा ५३ अर्बभन्दा बढीको योगदान पुग्ने बोर्डको हिसाब छ ।
बोर्डका अनुसार देशभर करिब ७० लाख ८७ हजार जना रोजगार रहेकामा वार्षिक १८ लाख मात्र घुम्न निस्कँदा वार्षिक ५३ अर्ब ६४ करोड रुपैयाँ अर्थतन्त्रमा योगदान हुने देखिन्छ ।सो सङ्ख्या बराबरलाई आयकर छुट दिँदा सरकारलाई तीन अर्ब ५० करोड रुपैयाँ मात्र नोक्सान हुनसक्ने बोर्डको हिसाब छ ।
यद्यपि पर्यटकीय गतिविधिका आधारमा प्राप्त हुने मूल्य अभिवृद्धि करलगायतका आम्दानीले सरकारको वास्तविक नोक्सानी केवल ५३ करोड मात्र हुने देखिएको बोर्डले जनाएको छ । यसका लागि पर्यटन बिदा भने अनिवार्य गरिनुपर्ने बोर्डको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस