काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरु गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि तीन हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरु गरेको हो । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपियाँ तोकेको छ ।
सो कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले सरकारले तोकेको समर्थन मूल्यका आधारमा कम्पनीले गहुँ खरिद कार्य सुरु गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष धनगढीको टीकापुर, बर्दियाको राजापुर, रुपन्द्रहीको भैरहवा र बाँकेको नेपालगञ्जबाट गहुँ खरिद गरिने योजना रहेकामा हाल टीकापुर र राजापुरमा खरिद गर्न सुरु भइसकेको छ । यस वर्षको योजनाअनुसार टीकापुर र राजापुरबाट एक÷एक हजार मेट्रिक टन र भैरहवा र नेपालगञ्जबाट पाँच÷पाँच सय मेट्रिक टन गहुँ खरिद गर्नेगरी प्रक्रिया सुरु भएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
उनले टीकापुर र राजापुरमा गरी अहिलेसम्म ३९१ मेट्रिक टन गहुँ खरिद गरिसके पनि भैरहवा र नेपालगञ्जमा कोरोना सङ्क्रमणको बढी त्रास भएकाले केही दिनपछि मात्रै खरिद सुरु गरिने जानकारी दिए । सो कम्पनीले यस वर्ष गहुँ खरिदका लागि नौ करोड पाँच लाख रुपियाँ रकम छुट्याएको छ ।
हाल गहुँ खरिदका लागि कम्पनीले तोकिएका स्थानबाट घटीबढी खरिद हुनसक्छ तर लक्ष्यअनुरूप खरिद नहुन्जेलसम्म निरन्तरता हुने कम्पनीका सूचना अधिकारी सुवेदीले बताए । यसअघि कम्पनीले दुई लाख मेट्रिक टनभन्दा बढी धान खरिद गरिसकेको जनाएको छ । आजको गोरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस