काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको स्वदेश फिर्ता गर्न थप परामर्श थालेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार खाडी तथा अफ्रिकी मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग त्यस बारेमा भर्चुअल परामर्श गरेका छन् ।
उनले नेपालका नागरिक फिर्ता ल्याउनुपर्ने अवस्था छ, कसरी कुन प्रक्रियाले फिर्ता ल्याउन सकिन्छ पहल सुरु गर्नुहोस् । मंगलबार त्यस क्षेत्रका राजदूत तथा नियोग प्रमुखलाई भने ।
परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँको सरकारसँग नजिक रहेर थप प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिए । त्यस्तै कोभिड–१९ को महामारीका कारण विभिन्न समस्यामा परेका नेपालीको समस्या समाधानका लागि प्रयत्न गर्न पनि निर्देशन दिएका छन् ।
त्यस्तै अन्य देशमा नियमित रोजगारीको समय सकिएर फर्कने अवस्थाका, वार्षिक बिदाको अनुमति लिइसकेका, बिरामी परेका र आफन्त भेट्न गएका परिवारका सदस्य लगायतका नेपालीलाई कसरी फर्काउने भन्ने विषयमा मन्त्री ज्ञवालीले राजदूतसँग परामर्श गर्नुभएको मन्त्रालयस्थित मध्यपूर्व तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।
श्रम गन्तव्य मुलुक साउदी अरब, कतार, कुवेत, यूएइ, बहराइन ओमान लगायतका देशमा नेपालीको वास्तविक अवस्थाको यकिन तथ्यसहित मन्त्रालयलाई बुझाउन छलफलका क्रममा मन्त्री ज्ञवालीले आदेश दिनुभएको घिमिरेले बताए। हाल आइरहेको तथ्याङ्क गैरआवासीय नेपाली सङ्घले दिने तुलनामा निकै कम आइरहेकाले मन्त्री ज्ञवालीले सचेत गराएका थिए ।
भर्चुअल अन्तक्र्रियामा विभिन्न देशका राजदूत शर्मिला पराजुली, डा। अञ्जान शाक्य, झविन्द्र अर्याल, कृष्णप्रसाद ढकाल, नारद भारद्वाज, पदम सुन्दास, महेन्द्रप्रसाद सिंह, उदयराज पाण्डे, गोमा भण्डारी र जेद्दाहका कार्यवाहक महावाणिज्य दूत रेवतीरमण पौडेल सहभागी थिए ।
मन्त्रालयबाट मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव शङ्करदास बैरागी तथा विभिन्न देश हेर्ने महाशाखा प्रमुख सहभागी थिए । आजको गोरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस