सुर्खेत । घरभाडामा लिएर व्यापार व्यवसाय गर्ने र डेरा लिएर बसेकाहरू यतिबेला निकै तनावमा छन् । लकडाउनले व्यवसायमा असर परेकाले यस अवधिमा घरभाडा छुट तथा मिनाहा गर्न घरधनीहरूलाई सरकारले अनुरोध गरे पनि केही मनकारी घरधनीले मात्र मिनाहा गरिदिएका छन् ।
घरधनीको पीडा
दैलेखका घरधनीले कोरोना भाइरसको प्रभाव भाडामा बस्नेलाई मात्र नभएर आफूहरूलाई पनि परेको भन्दै घरभाडा मिनाहा गर्न नसकिने बताएका छन् । नारायण नगरपालिका–६ का विष्णु अधिकारीले बैंकबाट ऋण लिएर घर बनाएकाले ऋण बुझाउनका लागि भाडा लिनुपर्ने बाध्यता रहेको उल्लेख गरे । विद्यार्थी रामबहादुर विकले बन्दाबन्दी अवधिको भाडा घरधनीले मिनाहा गरेको भए आफूहरूलाई राहत हुने बताए ।
स्वेच्छिक आह्वान
सल्यानमा पनि घरबेटीले बैङ्कबाट ऋण लिएर घर बनाएकाले घरभाडा छुट गर्न नसकिने तर्क गरेका छन् । शारदा नगरपालिका–१ श्रीनगर बजारका टीकाराम रोकाले भाडा छुट वा मिनाहा गर्न नसकिने स्पष्ट पारे । अर्का घरधनी वीरेन्द्र श्रेष्ठले बैङ्कले ऋणको ब्याज मिनाहा गरिदिए घरभाडा छुट दिन तयार रहेको बताए । खलङ्गाका लोकबहादुर डाँगीले भाडामा बस्ने कर्मचारीले मासिक तलब बुझ्ने भएकाले डेराभाडा छुट दिन नसक्ने बताए ।
व्यवसायी डम्बर केसीले व्यापार व्यवसाय ठप्प भए पनि घरभाडा तिर्नुपर्ने बाध्यता भएको गुनासो गरे । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घरधनीलाई स्वेच्छिक रूपमा घरभाडा छुट वा मिनाहा गरिदिन आह्वान गरिएको बताए ।
मनकारीले गरे मिनाहा
सुर्खेतमा केही मनकारी घरधनीले भाडा मिनाहा गर्न थालेका छन् । वीरेन्द्रनगर–४ भैरवस्थानका कृष्णा गौतमले बन्दाबन्दी भएको ५० दिन पुगिसक्दा पनि आफूले मासिक रूपमा लिँदै आएको ५० हजार रुपियाँ नलिएको बताए ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले घरभाडा मिनाहाका लागि अहिलेसम्म त्यस्तो केही निर्णय नभएको बताए । वीरेन्द्रनगर नगरपालिकाले जनप्रतिनिधिले आफ्ना घरमा भाडामा बसेकाबाट भाडा नलिने निर्णय गरेको छ । नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले सबै धरधनीलाई भाडा मिनाहा गर्न सार्वजनिक रूपमै अपिल गरिएको बताए ।
घोषणा गरेनन्
चन्दननाथ नगरपालिकाका–६ का वडाध्यक्ष मीनबहादुर डाँगीले सदरमुकाममा रहेको घरको एक महिनाको घरभाडाबापतको साढे ३१ हजार रुपियाँ मिनाहा गरे । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले पनि खलङ्गामा रहेको घरभाडा नलिने घोषणा गरेका छन् । जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले काठमाडौँमा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गरे । खलङ्गाका घरधनीहरूले भाडा नलिने भनेर घोषणा गरेका छैनन् ।
ऋण काढेर भाडा
घरधनीहरूले बैङ्कबाट ऋण लिएर घर निर्माण गरेकाले किस्ता तिर्न नै धौ–धौ परेका कारण घरभाडा छुट दिन नसकिने बताएका छन् । भेरी नगरपालिका–३ ठाँटी बजारका व्यवसायी कालीबहादुर घर्तीले बन्दाबन्दीले व्यापार ठप्प हुँदा घरभाडा तिर्न मुस्किल परेको बताए। अर्का व्यवसायी हेमन्तकुमार खत्रीले व्यवसाय बन्द भएको तर घरधनीले घरभाडा छुट नदिँदा ऋण काढेर भाडा तिर्न बाध्य भएको गुनासो गरे । घरधनी वागेश्वरी डाँगीले घर बनाउँदा लिइएको बैंकको ऋणको किस्ता तिर्नका लागि पनि घरभाडा छुट दिन नसकिने बताए ।
सोध्दा हकार्छन्
कालीकोटका घरधनीले घरभाडा छुट नदिने बताएका छन् । घरधनी बजुरे खड्काले सरकारले आफूहरूलाई बैङ्कमा व्याज तिर्न राहत उपलब्ध नगराएकाले घरभाडा छुट दिन नसकिने बताए । विभिन्न बैंक तथा वित्तीय संस्थालाई पनि भाडामा राखेका घरधनीले कसैलाई पनि घरभाडा छुट दिन नकिने बताएका छन् । बैंकले किस्ता नलिने हो भने आफूहरूले भाडा लिँदैनौ भन्दै घरधनीहरूले किस्ता तिर्नका लागि पनि भाडा लिनुपर्ने बताए ।
व्यापार नभए पनि भाडा तिर्नुपर्ने पीडा व्यवसायीहरू सुनाउँछन् । व्यवसायी लक्ष्मी ढुङ्गानाले आफ्नो घरबेटीसँग भाडा छुट हुन्छ कि भनेर सोध्दा घरबेटीले आफूलाई हकारेको गुनासो गरे ।
कार्यान्वयन भएन
घरबहाल छुटबारे सहजीकरण नहुनु र घरमा बस्नेले पनि भाडा छुटका बारेमा जानकारी नपाउनुले सरकारको घरभाडा छुटका लागि गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले हालसम्म बन्दाबन्दीका बेला कसैबाट पनि घरबहाल छुटको व्यवस्था नभएको बताए ।
कतिपयलाई सरकारले अहिलेको परिस्थितिमा घरबहाल छुटमा गरेको अनुरोधबारे पनि जानकारी नभएको पाइएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हुम्ला उपशाखाको घरधनीले भने कम्पनीले घर बहालमा छुटका लागि अनुरोध गर्दा चैत महिनामा ५० प्रतिशत छुट दिएका छन् । आजको गोरदखाप दैनिकबाट
प्रतिक्रिया दिनुहोस