aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

उपत्यकामा ढोका थुनेर बस्दा  ‘झ्यालबाट छिर्‍यो’ कोरोना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
उपत्यकामा ढोका थुनेर बस्दा  ‘झ्यालबाट छिर्‍यो’ कोरोना

काठमाडौं । मंगलबार र बिहिबार बिहान गरि भक्तपुरमा र काठमाडौंमा दुई/दुई जना कोरोना संक्रमित फेला परे । मंगलबार साँझ फेला परेका तीनैजना संक्रमित लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । 

उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौं उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको छ । 

आजको कान्तिपुर दैनिक लेख्छ–पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरुको परीक्षण र उनीहरुको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ ।
 
लकडाउनको ५२ दिन आइपुग्दा हामी चैत १० गतेभन्दा पनि गम्भीर र जटिल मोडमा आइपुगेको समाचारमा उल्लेख छ । 

जनस्वास्थ्यविद् दिनेश न्यौपाने भन्छन्–‘हामीले बाहिरबाट संक्रमण भित्रन्छ भनेर ढोका थुन्न खोज्दाखोज्दै झ्यालबाट प्रवेश गरिसकेको पत्तो पाएनौं । उनले सीमा बन्द गर्दा चोरबाटो हुँदै प्रवेश गर्नेको संख्या बढेको सुनिएको भन्दै यसले थप जोखिम बढाउने चेतावनी दिए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले भने, ‘बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा कडाइ नगरिएकै कारण संक्रमित व्यक्ति सहजै प्रवेश गरिरहेका छन् । उनीहरूकै कारण उपत्यकामा जोखिम उच्च भयो ।’

काठमाडौं उपत्यकामा लकडाउन हुँदा पनि पालना नगरी हुलका हुल सडकमा निस्कने गरेका थिए । पछिल्लो तीन दिनयता सडक जाम हुने गरी निजी गाडी र मोटरसाइकल सञ्चालन भइरहेको छ । सरकारी कार्यालय पनि नियमितजस्तै सञ्चालन हुन थालेका छन् । 

काठमाडौं उपत्यका छिर्ने नाकाहरूमा पहुँच हुनेहरूले जिल्ला प्रशासनबाट ल्याएका पास देखाएका आधारमा प्रवेश पाइरहेका थिए । कर्मचारी, सुरक्षाकर्मी र पत्रकार आफ्नो परिचय देखाएकै आधारमा नाकाबाट सहजै काठमाडौं आइरहेका थिए । काठमाडौंमा उद्योग, पसल, कार्यालय नियमित जस्तै सञ्चालन हुन थालेपछि बाहिर संक्रमित जिल्लाका सर्वसाधारण भने लुकीछिपी काठमाडौं आइरहेका थिए ।

‘पछिल्लो तीन संक्रमण त्यसैको परिणाम हो, उपत्यकाभित्रै भएका र बाहिरबाट आएका मान्छे पनि पछिल्लो समय घुलमिल भइसकेका छन् । त्यसैले संक्रमितको संख्या अझै बढ्न सक्छ,’ राजभण्डारीले भने, ‘यतिसम्म कि नक्कली बिरामी बनेर एम्बुलेन्ससमेत रिजर्भ गरेर काठमाडौं भित्रिए । कर्णालीबाहेक सबैतिर कोरोना फैलिएको छ । नाकामा कडाइ नगर्दाको परिणाम काठमाडौंमा हामीले कोरोना भित्र्यायौं ।’ लुकीछिपी आउनेको तथ्यांक प्रहरीसँग छैन ।

प्रतिक्रिया दिनुहोस