aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अपरिचित व्यक्ति उपत्यका प्रवेश गर्न खोजेमा वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
अपरिचित व्यक्ति उपत्यका प्रवेश गर्न खोजेमा वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन

काठमाडौं । उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ । मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एकएक जना गरी तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ । कतै अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतै अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । त्यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा मात्र सञ्चालन गरिएको छ । सडकमा प्रहरीले कडा चेकजाँच गर्न थालेको छ ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजनालाई थप प्रभावकारी बनाउने र पालिका स्तरको समन्वय जिल्लाको स्थिति ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ गर्ने तयारी गरिएको छ । यसअघि आ–आफ्नो पालिकामा निर्माण गरिएका क्वारेन्टाइन थप व्यवस्थित गर्ने, आइसोलेनसन वार्ड थप गर्न सक्ने क्षमता भएका स्थानीय तहले आइसोलेसन वार्ड थप गर्ने तयारी गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । 

पीसीआर परीक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि र स्वयंसेवकको नमुनाका रूपको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ । महानगरले मात्र उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित व्यक्तिलाई प्रवेशमा रोक लगाउन नसक्ने भएकाले उपत्यकाका सबै नगरपालिकाले उच्च सतर्कता अपनाउनुपर्ने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । उपत्यकामा प्रवेश गर्ने नाकामा नै पीसीआर गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था गर्न सके मात्र उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण रोकिन सक्ने उनले बताए । 

प्रवेश नाकामै कडाइ गर्नुपर्छ
ललितपुर महानगरपालिकाले काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य नाका जोडिएका स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले नाकासँग जोडिएका सबै स्नानीय तहले सवारी साधन कडा चेकजाँच गर्ने बताए । नाकामा हेल्थडेक्स स्थापना गर्ने र गैर नाका हुँदै प्रवेश गर्ने व्यक्तिलाई निगरानी राख्नुपर्ने त्यसका लागि आवश्यक सहजीकरण ललितपुर महानगरपालिकाले गर्न तयारी रहेको उनले बताए । उपत्यकामा प्रवेश गरेको कोरोना भाइरसलाई समुदाय स्तरमा फैलनबाट रोक्न सबै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । 

परीक्षणपछि मात्रैः मध्यपुर ठिमी
मध्यपुर ठिमी नगरपालिकाले पीसीआर विधिबाट कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पश्चात् मात्र बाहिरबाट आएका व्यक्तिलाई घरमा प्रवेश गर्न दिने निर्णय कार्यान्वयन गर्न सबै नगरवासीलाई आग्रह गरेको छ । पीसीआरको नेगेटिभ रिपोर्ट बिना कोही व्यक्तिलाई कोठा भाडामा वा आफन्तको घरमा राखे नगरपालिकाले घरधनीलाई कारबाही गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । मङ्गलबार साँझ नगरपालिका वडा नं। ९ मा सुनसरीबाट आफ्नो साथीको कोठामा बस्ने युवतीलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाएको हो ।

रिसोर्टलाई क्वारेन्टाइन बनाउनेः गोदावारी
ललितपुरको गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले नगर क्षेत्रका सामुदायिक विद्यालय र रिसोर्टलाई क्वारेन्टाइनमा परिणत गर्ने तयारी गरेको जानकारी दिए । नगर क्षेत्रमा भएका सबै विद्यालय रिसोर्टमा क्वारेन्टाइन बनाउन सम्भव छैन तर सम्भव भएका विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी गरिएको नगरपालिकामा जानकारी दिए । नयाँ व्यक्ति नगर क्षेत्रमा आए उच्च निगरानी राख्न जनप्रतिनिधि, नागरिक सामाजका अगुवा र स्थानीयवासी सबैलाई आग्रह गरिएको उनले बताए । 

सवारीमा उच्च निगरानीः दक्षिणकाली
दक्षिकाली नगरपालिकाको नाका हुँदै काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनको चेकजाँचलाई उच्च प्राथमिकता दिएको छ । नगरप्रमुख मोहन बस्नेतले फर्पिङ, बसपार्क, हुमाने भञ्ज्याङ, राम्चे भञ्ज्याङ लगायतका क्षेत्रमा हेल्पडेक्स स्थापना गरेको उक्त स्थानमा आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाले लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्दै निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन साँझ ६ः३० देखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

छ वटा हेल्थडेक्सः शङ्खरापुर
शङ्खरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले उपत्यकामा प्रवेश गर्ने सिन्धुपाल्चोक हुँदै काठमाडौँ भित्रिने साँघुमा हेल्थडेक्स राखी आवश्यक चेकजाँच गरिए पनि पर्याप्त सुरक्षाकर्मीको अभाव भएको बताए । नगरपालिकाले चेकजाँच कडाइ गर्न छवटा हेल्थडेक्स स्थापना गरेको हो ।

नागढुङ्गा नाकामा थप सतर्कता
चन्द्रागिरि नगरपालिकामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण देखिएपछि बन्दाबन्दीलाई बिहीबारबाट थप कडा बनाइएको छ । नगरपालिकाका पदाधिकारी, सुरक्षा संयन्त्र, स्वास्थ्य लगायतका संयुक्त आकस्मिक बैठक बोलाएर बन्दाबन्दी कडा पार्ने र परीक्षण तीव्र बनाउने निर्णय लिइएको हो । बुधबार नगरपालिकाका वडा नं ९ मा दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि नगरपालिकामा थप सावधानी अपनाइएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले राजधानी छिर्ने नागढुङ्गाको मुख्य नाका नै अहिले समस्याको विषय भएको बताए ।

घरधनीलाई आग्रह
काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले घरधनीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार प्रत्येक वडा कार्यालयले घरभाडामा बस्ने तथा घरधनीको सचेतनाका लागि टोल–टोलमा ‘माइकिङ’ सुरु गरिएको छ । काठमाडौँ र ललितपुर महानगरपालिकाका कतिपय वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी पाहुना लाग्ने र गृह जिल्लाबाट पुनः फर्किएर कोठामा बस्न आउनेलाई प्रवेशमा निषेध गर्न आग्रह गरेका छन् ।

घरकोठा छाडेर गएकालाई लकडाउन अवधिमा पुनः घरभित्र प्रवेश गर्न दिई कोरोना सङ्क्रमण फेलापरेमा सङ्क्रमित व्यक्तिको उपचार खर्चदेखि महामारी फैलिएमा त्यसको क्षतिपूर्ति घरधनीलाई तिराउने चेतावनी दिन थालिएको छ । अब घरधनीले आफन्त तथा पाहुना र घर बहालमा बस्नेलाई सीधै घरभित्र पस्न दिनेछैनन् । वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिसँग सम्पर्क गरी त्यस्ता व्यक्तिको कोरोना परीक्षणबाट ‘नेगेटिभ रिपोर्ट’ आए पनि १४ दिन आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस