काठमाडौं । भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयौँ रहेका छन् ।
भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।
भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार एक हजार १८५ जना नेपालीलाई रुपन्देही भित्र्याइएको बताए ।
‘रूपन्देहीकै पालिकाका क्वारेन्टाइनमा ४३० जना बसेका छन्स बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर गएका छन्’, उनले भने।
भारतले बन्दाबन्दीकै बीचमा रेल सेवा सुरु गरेपछि भारतका विभिन्न राज्यबाट बेलहिया नाका हुँदै घर फर्कन दैनिक सात आठ सय नेपाली सुनौली नाकामा आउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । जेठयता मात्रै बेलहिया नाकाबाट दुई हजार पाँच सय नेपाली भित्रिएको प्रजिअ पन्थले बताए। त्यसबाहेक लुकिछिपी भित्रनेको सङ्ख्या पनि ठूलो रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
यसैगरी नेपालगन्जस्थित नेपाल–भारत सीमानाकाबाट शनिबार मात्र एक हजार नौ सय नेपाली स्वदेश भित्रिएका छन् । शुक्रबार त्यस नाकाबाट स्वदेश भित्रने नेपाली एक हजार नौ सय रहेको जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताए ।
यस्तै प्रदेश २ का विभिन्न सीमानाकाबाट शनिबार ४९६ जना नेपाली स्वदेश भित्रिएका छन् । जेठ महिनामा प्रदेश २ मा चार हजार २३० नेपाली भारतबाट स्वदेश भित्रिएका र उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराम सापकोटाले बताए ।
कैलाली भारतका विभिन्न सहरबाट आएर सीमा क्षेत्रमा रोकिएका दुई हजार ११ जना नेपालीलाई शनिबार नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भारतको राजधानी दिल्ली, मुम्बई, पुणे लगायतका सहरबाट आएका नेपालीलाई सीमावर्ती बजार गौरीफन्टाबाट नेपाल ल्याइएको हो ।
सूचना अधिकारी जोशीका अनुसार भारतबाट आएकालाई सम्बन्धित पालिकाको एकान्तबासमा बसाउने गरेर पठाइएको छ । शनिबार भारतको गौरीफन्टाबाट स्वदेश भित्रिनेमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला तथा कर्णाली र प्रदेश ५ को सुर्खेत, दैलेख, सल्यान र बर्दियाका नागरिक छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार कञ्चनपुरको दोधारा हुँदै तीन सयभन्दा बढी नेपाली भारतबाट आएका छन् । उनीहरूलाई प्रदेश सरकार र स्थानीय तहले बस लगायतका सवारी साधनबाट सम्बन्धित पालिकाको एकान्तबासमा राख्ने गरी लगिरहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस