aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

होटल तथा पार्टी प्यालेसमा क्वारेन्टाइनको तयारी, विवरण संकलन गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
होटल तथा पार्टी प्यालेसमा क्वारेन्टाइनको तयारी, विवरण संकलन गरिँदै

भरतपुर । कोरोना सङ्क्रमण बढ्दै गएपछि सम्भाव्य क्वारेन्टाइन स्थल बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा प्यार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्न थालेको छ । सरकारले होटल तथा पार्टी प्यालेसहरूमा क्वारेन्टाइन राख्न सकिने भन्दै पत्रचार गरेपछि प्रशासनले यसको लागत संकलन गर्न सुरु गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 

“कथंकदाचित महामारीकै अवस्था भयो भने पनि क्वारेन्टाइनको व्यवस्था बनाउनुपर्छ भन्ने ध्येयले होटल तथा प्यार्टी प्यालेसहरूको विवरण लिने काम थालेका हौँ,” उनले भने । कतिपय विदेशबाट उद्धार गरी ल्याउने नेपाली नागरिकका लागि पनि राख्ने सबैभन्दा उत्तम ठाउँ होटल तथा पार्टी प्यालेस नै हो भन्ने सरकारको निष्कर्ष रहेको पनि उनले बताए । 

होटल तथा पार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्दैगर्दा त्यो कति क्षेत्रफलमा फैलिएको छ र त्यहा कति मानिस राख्न सकिन्छ भन्ने कुराको विवरण लिइएको छ । नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके चितवनमा भएका आठ सय होटलमध्ये चार सय क्वारेन्टाइनका लागि दिन सकिने अवस्थाका रहेको बताउँछन् । “कति होटल घर परिवारसँगै बसेर चलाइएको छ यस्ता होटलमा भने राख्न सकिँदैन,” उनले थपे, “हामी चितवनका होटलमा पाँच हजार जनासम्मलाई सहजै राख्न सक्छौँ ।”

पार्टी प्यालेसहरूमा भने क्वारेन्टाइन राख्न सकिने पूर्वाधार नभएको बताइन्छ । नेपाल राष्ट्रिय क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपाने देश विकराल अवस्थामा जाँदै गर्दा असहयोग गर्नुपर्छ भन्ने मान्यता नहुँदा नहुँदै पनि पार्टी प्यालेसको पूर्वाधार नहँदा क्वारेन्टाइन राख्न नसकिने तर्क गर्छन । “पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाउँदा हुने असरबारे विश्लेषण हुनुपर्छ । एउटा हल दिँदा त्यसैमा धेरै मान्छे राख्दा त्यसले के हुन्छ ?” उनले भने ।

शौचालय, खानेपानीको पूर्वाधार र क्वारेन्टाइनमा बस्नेलाई खानाको व्यवस्थासमेत पार्टी प्यालेसहरूले गर्न गाह्रो हुने उपाध्यक्ष न्यौपानेको भनाइ छ । पार्टी प्यालेसहरू घना बस्तीको बीचमा छन् । त्यहाँ क्वारेन्टाइन बनाउँदा सामाजिक अवरोध आउनसक्ने पनि उनको भनाइ थियो । चितवनमा ५० वटा पार्टी प्यालेसहरू रहेको पनि न्यौपानेले जानकारी दिए । गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस