काठमाडौं । आमागी साउन मध्यसम्म कोरोना भाइरसको संक्रमण अस्वभाविक रूपमा फैलन सक्ने तर्फ विज्ञहरूले सचेत गराएका छन् । भारत र चीन लगायत विश्वका अन्य मुलुकहरूमा कोभिड–१९ फैलिएको अवस्थालाई विश्लेषण गरेर विज्ञहरूले नेपालसमेत आमागी दुई महिना (जुनरजुलाई) थप जोखिममा रहेको बताएका हुन्।
स्वास्थ्य मन्त्रालयका विज्ञ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपाली सेनाका विज्ञहरू, क्राइसिस म्यानेजम्यान्ट सेन्टरका अधिकारीहरूको टोलीले अन्य मुलुकहरूमा कोरोना भाइरस फैलिएको अवस्थालाई मध्यनजर गर्दै थप संक्रमण फैलिनेतर्फ सचेत गराएका हुन्।
विज्ञ सम्मिलित टोलीले कोरोना भाइरस फैलिएको अवस्थालाई विश्लेषण गरेर यस्तो भनेका हुन्। जंगी अड्डाले बुधबार भिडियो कन्फरेन्समार्फत गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी डा.नविन फुँयालले विज्ञहरू सम्मिलित टोलीले कोरोना फैलिएको ट्रेनलाई गणितिय हिसावले विश्लेषण गर्दा थप २ महिना जोखिममा रहेको बताए। डा. फुयाँलले भने, ‘लकडाउनको कारणले गर्दा अवस्था अहिले नियन्त्रणमा जस्तै छ। थप सचेत भइएन भने अबको २ महिना कोरोना भाइरसको संक्रमण बढ्ने आँकलन गरेका छौं।
सरकारले अहिले कोरोना भाइरस परिक्षणको दायरा समेत बढाएको छ। त्यही भएर पनि संक्रमितको संख्या धेरै वढेको हो, उनले भने। पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरस रोकथाम र नियन्त्रणका बारेमा अहिलेसम्म भएका गतिविधिहरूको बारेमा जानकारी दिएका थिए।
छाउनीस्थित नेपाली सेनाको महावीर गण (रेञ्जर) परिषरमा कार्यालय रहेको क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी, विदेशबाट आउने नेपाली नागरिकहरूको व्यवस्थापनबारे कार्ययोजना बनाइ प्रधानमन्त्रीलाई दिएको छ। उक्त कार्यायोजनामा के छ भन्ने विषय भने गोप्य राखिएको छ।
उक्त कार्यायोजनालाई मन्त्रिपरिषद्ले स्विकृती दिएपछि कार्यान्वयनमा आउने छ। भारत र अन्य मुलुकबाट नेपालीहरूलाई व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिने तयारीसमेत रहेको रक्षा मन्त्रालय स्रोतले बताएको छ। विदेशबाट फर्किएका नेपालीहरूलाई ल्याउने र उनीहरूको व्यवस्थापन गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ। यद्दपी, सरकार त्यसबारे छलफलकै क्रममा छ। प्रधानमन्त्री केपी ओलीले पनि कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न नेपाली सेनालाई अग्रपंक्तिमा राख्न चाहेको स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस