aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

भारतले निर्माण गरेको तटबन्धका कारण २१ जिल्ला डुबानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
भारतले निर्माण गरेको तटबन्धका कारण २१ जिल्ला डुबानमा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल–भारत सीमामा भारतद्वारा निर्माणाधीन सडक/बाँध/तटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ ।

तराई–मधेसका २८ जिल्लामा चार वर्ष लगाएर गरिएको अध्ययनमा भारतले दशगजामा पर्ने २१ वटा ठूला नदीमा बाँध÷तटबन्धका साथै पाँच मिटरसम्म अग्लो सडक निर्माण गरिएको पाइएको छ । २०७२ साल असारदेखि आयोगका दुई सदस्यसहित कर्मचारी सम्मिलित विभिन्न २७ वटा टोलीले नेपालको अन्तर्राष्ट्रिय सीमासँग जोडिएकामध्ये २८ वटा जिल्लाका सीमामा पुगी स्थलगत अनुगमन गरेको थियो ।

सडक/बाँध/तटबन्धका कारण तराईका अधिकांश भूभाग हरेक वर्ष वर्षायाममा डुबान तथा कटानमा परी त्यहाँको जनजीवन प्रभावित बन्दै आएको आयोगद्वारा गरिएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ । आयोगकी प्रवक्ता मोहना अन्सारीले यी समस्या समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सुझावसमेत दिइएको बताए ।  उनका अनुसार प्रतिवेदन पारित गर्न बसेको बैठकले सरकारलाई पीडित नागरिकलाई क्षतिपूर्ति दिन निर्देशन दिने निर्णय गरेको जानकारी दिए । 

आयोगकी प्रवक्ता अन्सारीले भारत र चीन सँगको क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकारको अवस्थाबारे सार्वजनिक गरी सम्बन्धित सरोकारवालालाई जवाफदेही बनाउन, पीडितलाई न्याय प्रदान गर्ने कार्यमा सहयोग पु¥याउन अध्ययन गरिएको बताए । प्रतिवेदनमा सीमा क्षेत्रका आम नागरिक शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको, स्वतन्त्र र निर्भीक रूपमा जीवनयापन गर्न नसकेको समेत उल्लेख गरिएको छ ।

यस अध्ययनले सीमा क्षेत्रका दुवै देशका नागरिकका मानव अधिकारका विषयमा सम्बोधन गर्न कूटनीतिक पहल गर्ने कार्यमा नेपाल सरकारलाई सहयोग पु¥याउने विश्वास पनि उनको छ । नेपाल र भारतबीच साना–ठूला गरी करिब ६० वटा नदीनालाले सिमानाको काम गरेका छन् । पूर्वमा मेची नदीले ८० किलोमिटर र पश्चिममा महाकाली नदीले दुई सय किलोमिटर, नारायणी नदीले २० किलोमिटर, राप्ती नदीले छ किलोमिटर र अन्य बाँकी नदीले २५९ किलोमिटर सीमारेखाको काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार नेपाल–भारत सिमानाको पूर्व, पश्चिम र दक्षिणमा ८,५५३ वटा सीमा स्तम्भ छन् । जसमध्ये मुख्य सीमा स्तम्भको सङ्ख्या ९१६, सहायक सीमा स्तम्भको सङ्ख्या २,४८१ र साना स्तम्भको सङ्ख्या ५,१५६ रहेको छ । झापादेखि कञ्चनपुरसम्म नेपाल–भारत सिमाना छुट्याउने ५,८५९ सीमा स्तम्भ निर्माण भएकोमा अहिले ५,१६८ वटा सीमा स्तम्भ मात्र बाँकी रहेको आयोगको प्रतिवेदनमा जनाइएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस