aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

मृत्युपछि मात्र कोरोना पुष्टि !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
मृत्युपछि मात्र कोरोना पुष्टि !

काठमाडौं । मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि हुँदा मुलुकको स्वास्थ्य प्रणाली र परीक्षणप्रति प्रश्न उठेको छ। स्वाब अर्थात् पीसीआर परीक्षणमा ढिलाइ हुँदा संक्रमितको मृत्युपछि कोरोना पोजिटिभ पुष्टि हुन थालेको हो।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। यीमध्ये ६ जनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। एक जनाको त अन्त्येष्टि सकिएको एक सातापछि बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ भएको जनाएको थियो।

दैलेख दुल्लु–११ आखितडाका ३५ वर्षीय युवाले शनिबार बिहान ज्यान गुमाए। त्यसपछि मात्रै उनको स्वाब परीक्षण गरिएको थियो। क्वारेन्टाइनमा बसिरहेका बेला उनको ज्यान गएको थियो।

यसरी कोरोना पहिचान नभई मृत्यु हुनुले राज्य संयन्त्र, स्वास्थ्य प्रणाली र नेतृत्वप्रति प्रश्न उब्जाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्। ‘क्वारेन्टाइनमा आरडीटी विधिबाट मात्र परीक्षण गरिएको छ’, उनी भन्छन्, ‘जोखिम क्षेत्रबाट आएका व्यक्तिको क्वारेन्टाइनमा सुरुमै पीसीआर परीक्षण गरेको भए यस्तो अवस्था आउने थिएन।’

कोरोना लागेर ज्यान गुमाउनेमा पहिलो व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया महिला हुन्। उनको जेठ १ गते मृत्यु भएको थियो। त्यसपछि मात्रै मन्त्रालयले उनमा कोरोना संक्रमण पुष्टि गरेको थियो।

बाँकेका युवामा पनि मृत्युपछि कोरोना पोजिटिभ पुष्टि गरिएको थियो। नरैनापुरस्थित क्वारेन्टाइनमा जेठ ४ गते उनको ज्यान गएको थियो। बाराका वृद्धकोे जेठ ४ गते मृत्यु भएको थियो। तर, अन्त्येष्टि गरिएको आठ दिनपछि उनमा जेठ १२ गते कोरोना पोजिटिभ पुष्टि गरिएको थियो।

छैंटौँ मृतक अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका युवाको रिपोर्ट जेठ १५ गते आएको थियो। भारतबाट आएका ३५ वर्षीय ती युवाको जेठ १० गते ज्यान गएको थियो। जिल्ला सदरमुकाम सन्धिखर्कमा उनको अन्त्येष्टि गरिएको थियो। उनको स्वाब जेठ ११ गते संकलन गरिएको थियो। अन्नपूर्ण पोस्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस