aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कोरोना भगाउन मधेशका विभिन्न ठाउँमा पूजा शुरु !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
कोरोना भगाउन मधेशका विभिन्न ठाउँमा पूजा शुरु !

काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोक्ने नाममा लामो समय देखि कष्टकर जीवन बाच्न बाध्य भएका सर्वसाधारण यसबाट मुक्ती पाउने अनेकौं उपायमा लागेका छन्  । यसैक्रममा मधेशका कतिपय स्थानमा अन्धविश्वासलाई मलजल पुग्ने गरी पुजा गर्न थालिएको छ  ।

स्थानीय स्रोतका अनुसार लगातार लामो लकडाउनका कारण आजित बनेका रौतहटका केही स्थानका महिलाहरु कोरोना भाईरस भगाउन पूजा गर्न थालेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ५ का दर्जनौ महिलाहरु आज एकाबिहानै चोखिएर खुला चौरमा पंक्तिबद्ध बसेर सामूहिक पूजा गरेका हुन् ।

कटहरिया वडा ५ का अध्यक्षका प्रत्यासी राजनारायण साहले बिहानैदेखि दुवै वडाका दर्जनौ महिलाहरुले कोरोना भगाउन सामूहिक पुजा गरेको बताए । रौतहटको कटहरियामा मात्र नभई जिल्लाको कैयौं स्थानमा महिलाहरुले पछिलो केही दिनदेखि कोरोना भगाउन सामूहिक पूजा गरेका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाईरल भइरहेका छन् ।

त्यसैगरी धनुषा जिल्लाको विभिन्न स्थानमा यतिबेला कोरोना संक्रमण (कोभिड़-१९) लाई ‘कोरोना माई’ अर्थात् कोरोना देवीको संज्ञा दिएर पूजापाठ सुरु गरिएको छ । जनकपुरधाम उप-महानगरपालिका वार्ड ७ को मुसहरी टोल र वार्ड २० देवपुरा रुपैठा भन्ने टोलमा धामी-झाँक्रीसहित पूजापाठ गर्न थालिएकाे हाे ।

‘कोरोना रोग होइन, यो देउता रिसाएर महामारीको रूप लिएको’ भन्दै यतिबेला तराई-मधेशका थुप्रै स्थानहरूमा कोरोना माईको पूजापाठ सुरु गरिएको खबर प्राप्त भएको छ । धनुषाको जनकपुरधाम उप महानगरभित्रै यस्तो अन्धविश्वासमा लागेर मुसहर समुदायहरु आ-आफ्नो टोल र ठाउँमा पूजापाठ गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस