aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न अन्तर्राष्ट्रिय सहयोग आउन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
कोरोनाले थलिएको अर्थतन्त्र उकास्न अन्तर्राष्ट्रिय सहयोग आउन थाल्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको महामारीले थलिएको अर्थतन्त्र उकास्न अन्तर्राष्ट्रिय सहयोग आउन थालेको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटबारेको छलफलमा उठेका प्रश्नको प्रतिनिधि सभामा सोमबारको बैठकमा जवाफ दिने क्रममा त्यसका लागि एसियाली विकास बैंकले करिब ३० अर्ब रुपियाँ सहयोग गर्ने भएको र अन्य निकायबाट पनि सहयोगको प्रतिबद्धता आएको बताए ।

सोही क्रममा उनले बजेटमा कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत आन्तरिक ऋण उठाउन करिब २२५ अर्ब रुपियाँ उल्लेख गरिएको बताए । यसरी उठाएको आन्तरिक ऋण विकास निर्माणमा मात्र खर्च गरिने र त्यसले बजारमा तरलता अभाव हुन नदिने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सङ्घबाट प्रदेशमा विभिन्न शीर्षकमा गएका बजेट चालू खर्चको मानिँदै आए पनि कतिपय बजेट पुँजीगत खर्च नै हुने गरेकाले अनुसूचीमा थप व्यवस्था गरी विकास खर्च र साधारण खर्च भनेर शीर्षक छुट्याइएको बताए । उनले अहिलेको अवस्थामा स्थानीय तहको क्षमतालाई हेर्दा बजेट पर्याप्त भएको र खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रमा विगतमा दुई प्रतिशत बजेट विनियोजन हुँदै आएको अहिले छ प्रतिशत पुगेकाले यो अपुग भन्न नमिल्ने बताए । त्यसबाहेक कोरोना रोकथामका लागि करिब छ अर्बको आकस्मिक खर्च छुट्याइएको र चालू आवमा नै पनि पाँच अर्ब रुपियाँ पीसीआर तथा अन्य औषधि खरिदका लागि निकासा भइसकेको बताए । गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस