aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु

काठमाडौं । उपत्यकामा पाँच जनालाई कोरोनाको संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक महिलामा कोरोना देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको ‘टे«सिङ’ गर्ने कार्य भइरहेको जनाएको छ । एक सातायता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् । शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिए । सङ्क्रमित एक जना महिला भारतबाट आएको बताइएको छ ।

उनी टोखा–मनमैजु क्षेत्रमा बस्ने भएकाले ट्रेसिङ कार्य भइरहेको तारकेश्वर नगरपालिकाले जनाएको छ । त्यस्तै भक्तपुरका सङ्क्रमित महिला सूर्यविनायकको भएको बताइएको छ । उनीहरू सबैलाई उपत्यकाको विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौँमा २३, भक्तपुरमा पाँच र ललितपुरमा तीन गरी हालसम्म उपत्यकामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस