काठमाडौं । एभेरष्ट बैंकको नाफा गतवर्षभन्दा ५१.५४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा ५१.५४ प्रतिशत कम हो । गत आवको यसै अवधिमा बैंकले ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको व्यवसाय विस्तार खुम्चँदा खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ।
बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको कूल आर्जन गरेको ५ अर्ब ६४ करोड ८२ लाख आम्दानीमध्ये वागमती प्रदेशमा मात्रै ४ अर्ब ४५ करोड ९२ लाख अर्थात ७८।९५ प्रतिशत रहेको छ । काठमाण्डौं सेन्ट्रिक व्यवसायका कारण बैंकको यस त्रैमासको आम्दानी बढी प्रभावित भएको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको कर्जा लगानी ३.३१ प्रतिशतले मात्र बढेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशत अर्थात ४० करोड ९२ लाख २१ हजार रुपैयाँले घटेको छ।
चालू आबको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.०३ प्रतिशत, कोषको लागत ५.३७ प्रतिशत, आधारदर ७.०७ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा बैंकको यस्तो नाफा ३० करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
बैंकको जगेडा कोषको आकार गत असोज मसान्तको तुलनामा सामान्य घटेर ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोष १८.६७ प्रतिशतले बढेर २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निक्षेप सङ्कलन ९ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।त्यस्तैगरि, बैंकको सीसीडी रेसियो ७०.२७ प्रतिशत रहेको छ । नेटवर्थ प्रति शेयर १.७६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस